काठमाडौँ । चर्चित गायक गायिका मिलन नेवार, नवीन पौडेल र राजनराज सिवाकोटीले राजधानीकाबासी नचाएका छन् । शुक्रवार साँझ काठमाडौँको टोखास्थित लड प्यालेस ब्याङ्केट उद्घाटनमा आयोजित विशेष संगीतिक कार्यक्रममा उनीहरूले गीतसङ्गीतको प्रस्तुति मार्फत दर्शक नचाएका हुन् ।
करिब १० महिनापछि कलाकारको साङ्गीतिक प्रस्तुतिमा नाच्न पाउँदा दर्शक निकै खुसी देखिन्थे । लोकगायक नवीन पौडेलबाट सुरु भएको संगीतिक प्रस्तुति गायिका मिलन नेवार, राजनराज सिवाकोटीलगायत कलाकारमा पुगेर टुङ्गिएको थियो । कार्यक्रममा गायक पौडेलले ‘लेउ खुकुरी लेउ’, ‘बुलाकी लाउने, झुम्का लाउने’ बोलको गीतबाट दर्शक नचाएका थिए ।
करिब तीन घण्टा चलेको साङ्गीतिक कार्यक्रममा गायिका मिलन नेवारले ‘जहिले सम्म’, ‘सिरीमा सिरी हावा’ लगायत करिब आधा दर्जन चर्चित गीतसङ्गीत प्रस्तुत गरेकी थिइन् । धेरै पछि दर्शकको अगाडि उभिएर कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको मिलनले बताइन् । कार्यक्रमको अवसर दिएकोमा लड प्यालेसका सञ्चालकलाई उनले धन्यवाद दिइन् ।
कार्यक्रममा गायक तथा सङ्गीतकार राजनराज सिवाकोटीले फिल्म तथा आधुनिकका चलेका चेप्टे चेप्टे पेरुङ्गा, सुर्के थैली, कुटुमा कुटु, टाकन टुकुन टाक्क, गोजीमा दाम छैन लगायत आधा दर्जन बढी गीतसङ्गीत पस्केका थिए । उनले कुटुमा कुटु गीत प्रस्तुत गर्दा दर्शक स्टेजमै चढेर समेत नाचेका थिए । कलाकार सुवास खड्काले सञ्चालनमा ल्याएको लड प्यालेस ब्याङ्केट शुक्रवार नै उद्घाटन भएको थियो । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले रिबन काटेर प्यालेसको उद्घाटन गरेका थिए ।
दुई वटा पार्टी भेन्यु, साङ्गीतिक कार्यक्रमका लागि आकर्षक स्टेज, पार्किङ लगायत विभिन्न सुविधा, आकर्षक डिजाइन सहित करोडौँको लगानीमा तयार प्यालेस विवाह, बर्तमन, पास्नी, व्यावसायिक उत्पादन लन्च लगायतका थुप्रै कार्यक्रमलाई लक्षित गरेर तयार पारिएको प्यालेसका सञ्चालक समितिका अध्यक्ष समेत रहेका कलाकार सुवास खड्काले बताए । उनले फोटो तथा भिडियो, म्युजिक सिस्टम, ब्युटिसियन, व्यावसायिक इभेन्ट म्यानेजमेन्टका लगायत थुप्रै सुविधा प्यालेसमा रहेको जानकारी दिए ।
थुप्रै म्युजिक भिडियो तथा चलचित्रमा समेत अभिनय गरेका सुवासले व्यवसायमा पनि आफूलाई सक्रिय राख्दै आएका छन् । कार्यक्रममा चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, कलाकार कृष्ण मल्ल, मदनदास श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, लोक तथा दोहोरी गायक चन्द्र शर्मालगायत थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।