संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ । मन्त्रालयमा मंगलबार नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छे भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन सचेत गर्नुभयो ।
ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नलाई नडराउन उहाँले आग्रह गर्नुभयो । मन्त्री ढकालले यस अघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो । तर समय परिस्थिति अनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत हुने उहाँको भनाइ थियो ।
मन्त्री ढकालले व्यक्तिगतभन्दा पनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो । प्रतिनिधि सभा नभएको अवस्थामा नयाँ कानून निर्माण गर्न नसकिने भएकाले कानूनी सुधार भन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न मन्त्री ढकालले आग्रह गर्नुभयो ।