अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

पोखरामा पुष १५ देखि सडक महोत्सव हुने

बिआरटीनेपाल २०७७ पुष १ गते ६:४० मा प्रकाशित

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुँदै आएको पोखरा सडक महोत्सव पुष १५ देखि हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने महोत्सव यस वर्ष ३ दिनसम्म आयोजना गरिन लागिएको हो । महोत्सवमा कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने बताइएको छ ।

बुधबार पोखरामा रेवानले गरेको पत्रकार सम्मेलनमा विषम परिस्थिति भए पनि महोत्सवलाई निरन्तर दिन लागिएको आयोजकले जानकारी दिएको छ । महोत्सव विगत २१ वर्षदेखि पोखराको लेकसाइडमा आयोजना हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रेवानका अध्यक्ष लक्ष्मण बरालले कोभिड १९ को संक्रमणका कारण ९ महिनादेखि पर्यटनसँग सम्बन्धी कुनै गतिविधि हुन नसकेको कारण व्यवसाय चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । २२ औं पोखरा सडक महोत्सवका संयोजक वसन्त गौतमले यस पटक तडकभडक र ठूलो तामझाम नगरिकन कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले एक हप्ताभित्र पोखराका प्रमूख पर्यटकीय क्षेत्रहरु खुल्ने जानकारी दिनु भयो । विहिबारबाट पोखराको फेवातालमा रहेको प्रसिद्ध तालवाराही मन्दिर खुल्ने र अन्य मन्दिर, गुफा र भ्यू टावर पनि क्रमशः खुलाउन सरोकारवाला सकारात्मक भएको परिषद् अध्यक्ष भट्टराईको भनाइ छ ।

त्यसैगरी रेवानका सल्लाहकार सुर्य भूजेलले सडक महोत्सवमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहने विश्वास व्यक्त गर्नु भयो । कोभिड संक्रमणका कारण ९ महिनादेखि घुमफिर गर्न नपाएका पर्यटकहरु महोत्सवका कारण उत्साहित भएको उहाँको भनाइ छ ।

रेवानका महासचिव विकास भट्टराईले संचालन गरेको कार्यक्रममा महोत्सवका सहसंयोजक तथा रेवानका सचिव भिष्म राज पौडेलले महोत्सवमा अपनाइने स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा प्रकाश पार्नु भएको थियो ।

यसवर्षको महोत्सवमा कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने, ३ बजेदेखि १० बजेसम्म सडकमा यातायातका साधन नचलाइ सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष नहुने भएको छ । विभिन्न खेलकूदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय