सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको दुरुपयोग गर्न थालेको भन्दै नेकपाकै नेताहरुले आपत्ति जनाएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताहरूले अन्य नेताहरूको गतिविधि बुझ्न प्रधानमन्त्रीले गुप्तचर र विचौलिया परिचालन गरेको आरोप लगाएका हुन् ।
पार्टी सचिवालयमा आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले बैठक टार्न एकै समयमा मन्त्रिपरिषद बैठक बोलाउनु शक्तिको दुरुपयोग भएको एक नेताले बताएका छन् । तर सचिवालय बैठक नसर्ने अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको अडानपछि अन्ततः प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक एक घण्टाको बोलाउनु भएको छ ।
अध्यक्षद्वय ओली र दाहालबीचको अलग(अलग मोर्चाबन्दीले नेकपामा धुव्रीकरण हुँदै गर्दा सरकारले सूचना संकलनका निम्ति गुप्तचर र विचौलियाहरु व्यापक परिचालन गरेको दाहाल निकट नेताहरुले दाबी गरेका छन् ।अध्यक्ष दाहालको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठक नबस्ने चेतावनी दिँदै आउनुभएका ओलीले विचौलिया र गुप्तचर दुवैलाई उपयोगमा ल्याएको भेटिएको नाम उल्लेख नगर्ने शर्तमा ती नेताले जानकारी दिए । उनले भने, ‘हाम्रो निवास वरपर गुप्तचरको निगरानी बढाइएको छ ।’
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कसले, कहाँ र कसलाई भेट्यो त्यसको फेहरिस्था राखेर ओली पक्षले त्यस अनुरुपको काउन्टर तयार गरिरहेको छ । त्यस्ता गुप्तचरी कार्यले आफूहरुलाई भने कुनै असर नगर्ने श्रेष्ठले बताउनु भयो । पार्टी गम्भीर मोडमा पुगेको अवस्थामा त्यो हदसम्म प्रधानमन्त्री पुगेकोमा नेताहरुले दुःख व्यक्त गरेका छन् ।
