नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेकपामा देखिएको अन्तरसंघर्षप्रति चिन्ता व्यक्त गरेको छ। मसालका महामन्त्री मोहविक्रम सिंहले एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाको अन्तरसंघर्ष वा त्यसको परिणामस्वरुप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति भएको बताउनुभएको छ । ’नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ। त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिंदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ’, विज्ञप्तिमा भनिएको छ।
जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न रहेको मसालको बुझाइ छ। नेकपामा फुट आए देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जाने विज्ञप्तिमा उल्लेख छ। तात्कालीन एमाले र माओवादी केन्द्रका बीचमा भएको पार्टी एकतालाई स्वागत गरे पनि त्यो एकता कम्युनिस्ट एकता नभएको र एकताद्वारा एकीकृत कम्युनिस्ट पार्टीको निर्माण पनि भएको सिंहले बताउनुभएको छ ।
’नेकपाभित्र व्यक्तिगत रुपमा एक–अर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ’, सिंहले भन्नुभएको छ , ’त्यसप्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम हो। हाम्रो पार्टी पनि त्यसप्रकारको गालीगलौज वा चरित्रहत्याको धेरैपल्ट शिकार भएको छ।’
नेकपाले एउटा कम्युनिस्ट पार्टीको जस्तो मात्र नभएर बुर्जुवा प्रजातान्त्रिक पार्टीको जस्तो अन्तरसंघर्षसमेत चलाउन नसकेको मसालको आरोप छ। ’अधिनायकवादी वा निरङ्कुश प्रणालीहरुमा भन्दा बेग्लै एउटा प्रजातान्त्रिक पार्टीले सँधै नै बहुमतको निर्णयलाई मानेर काम गर्नुपर्दछ। तर नेकपाभित्र त्यो पद्धतिले काम गर्न छाडे जस्तै देखिन्छ,’ सिंहले भन्नुभएको छ ।
नेकपामा फुट आएमा उनीहरु कहिल्यै उठ्न नसक्ने उहाँले चेतावनी पनि दिनुभयो । ’उनीहरुको बीचमा फुट भयो भने त्यसबाट देशको राजनीतिमा कुन प्रकारका दुष्परिणामहरु हुनेछन् ? खालि देशको राजनीतिमा मात्र होइन, त्यो स्थितिमा स्वयम् उनीहरुको लागि पनि सांघातिक प्रकारले ठूलो क्षति पुग्ने छ, शायद पुनः कहिल्यै उठ्न नसक्ने गरेर’, सिंहले भन्नुभएको छ ।
