पोखरामा ‘नेपालकै अग्लो’ शिवको मूर्ति निर्माण भइरहेको छ । पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन र भारतीय पर्यटकहरुलाई मध्यनजर गर्दै मूर्ति स्थापना गर्न लागिएको हो । एकै ठाउँबाट रमणीय दृश्य अवलोकन गर्न सकिने गरी पोखरा महानगरपालिका पुम्दीकोटमा ५२ फिट अग्लो शिव मूर्ति निर्माण गरिएको हो ।पोखरामा नेपालमै अग्लो दाबी गरिएको शिवको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मूर्ति निर्माणको काम ४५ प्रतिशत सकिएको छ ।
४० करोड रुपैयाँको लागतमा निर्माणाधीन मूर्तिले धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ ।पुम्दीकोटकोट विकास समितिले मन्दिर निर्माणको काम तीव्रगतिमा गरिरहेको छ । भवन निर्माण र मूर्ति जडानको काम चलिरहेको छ । ५२ फिट अग्लो शिवजीको बसेको मूर्ति राख्न लागिएको हो ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार पहिलो चरणमा मूर्तिसहित गणेशले परिक्रमा गरिरहेको १०८ शिवलिंग, १०८ स्वर्गद्वारी सिंढी, सुमेरु पर्वतलगायत निर्माण हुनेछ । दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैंचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना छ ।
मूर्ति बनेपछि महत्वपूर्ण गन्तव्य थपिने विश्वास स्थानीयले लिएका छन् । पुम्दीकोटबाट फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृंखला एकसाथ देख्न सकिन्छ । समुद्र सतहदेखि झन्डै एक हजार ५०० मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृश्यावलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटावरसमेत निर्माण गरिएको छ ।