अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 00:08

थप लकडाउन थेग्न सक्दैनौँ – वायु सेवा सञ्चालक सङ्घ

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:४० मा प्रकाशित

वायु सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले काठमाण्डौ उपत्यकामा लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ ।गएको ६ महिनाको लकडाउनपछि थोर बहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप लकडाउन देशले थेग्न नसक्ने अवस्था रहेको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।

’केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरि लकडाउन गर्ने समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । ६ महिनाको लकडाउनले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौँ श्रमिकको रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायु सेवा कम्पनी ६ अर्ब रुपैयाँभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्ययभार थप्नु न्यायोचित हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ महामारीको सङ्क्रमणदर उच्च रहेको भन्दै काठमाण्डौ उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकै बीच भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान सुरु भएको थियो । सरकारले मङ्सिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि फेरि सञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले ’होलिडे प्याकेज’ तथा ट्रेकिङको बुकिङसमेत आउन सुरु भइसकेको जनाएको छ ।

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरूलाई भने कारबाहीको दायरामा ल्याउन पनि सङ्घले माग गरेको छ ।लकडाउनका बीचमा समेत सङ्क्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै सङ्घले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान गर्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय