यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् ।कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ ।तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा विगतजस्तो तामझाम देखिएको छैन ।
तिहार भन्नेबित्तिकै सम्झना आउने भनेको झिलिमिलीको हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् ।तर, यसपटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुँदा व्यापारीहरु निराश भएका छन् ।तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भएपनि यो वर्ष ३० प्रतिशतभन्दा बढी हुन नसकेको उनीहरु बताउँछन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघकाअनुसार विगत वर्षभन्दा ४० प्रतिशत कममात्रै बत्तीहरु आयात भएका छन् । कोरोनाका कारण व्यवसायीहरुले भोग्नुपरेको समस्या र चीनसँगको नाकाबाट सहजरुपमा सामान आयात नहुँदा समस्या भएको महांघको भनाइ छ ।