नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्षसँग गर्ने भनिएको कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। ओलीसँग छलफल गर्न भन्दै कार्यदलका सदस्य खासगरी ओली निकट शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयको हलमा कुर्नुभएको थियो ।
तर प्रचण्ड निकट नेताहरु जनार्दशन शर्मा आइसोलेसनमा भएको र पम्फा भुसाललाई राज्यव्यवस्था समितिको बैठकमा जानु परेको खबर आएपछि बैठक स्थगित भएको हो । प्रचण्ड निकट दुई जनानै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै उनीहरु त्यहाँबाट उठेका थिए ।
नेता रावलले आफूहरुले छलफलका लागि ओलीसँग समय मागेको तर बालुवाटार छिरेपछि मात्रै नेता शर्मा र भुसालले खबर गरेको र आफूहरुले उनीहरुको उपस्थितिबिना प्रधानमन्त्री ओलीसँग छलफल गर्न नचाहेको प्रतिक्रिया दिनुभयो । नेकपामा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो।
सोही कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरिएको थियो।भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्कने निश्चित समय(कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने निर्णय पनि सोही दिन गरिएको थियो।
तर त्यसको २० दिनपछि ओलीले एकलौटी राजदूत नियुक्ति गरेपछि नेकपामा देखिनेगरी विवाद सुरु भएको थियो । हाल आएर अविश्वासको प्रस्ताव दर्ता र दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न कसले पहिले हात छोड्ने भन्नेमा छलफल जारी छ ।
