संघीय संसद्को हिउँदे अधिबेशन तत्काल बोलाउन पुर्व सभामुखहरुले सरकारलाई आग्रह गरेका छन् । गत असारमा सरकारले आकस्मिकरुपमा संघीय संसद अधिवेशन अन्त्य गरेलगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन माग गर्ने चर्चा चलेपनि पछिल्ला दिनहरुमा संसदको हिउँदे अधिवेशन आह्वानको चौतर्फी माग बढ्दै गएको छ । वर्तमान विषम परिस्थितिमा जनप्रतिनिधिमूलक संस्थाको झन् आवश्यकता रहने भन्दै विपक्षी दलमात्र नभइ सत्तारुढ दलकै कतिपय नेता र पूर्वसभामुखहरुले पनि तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् ।
पूर्वसभामुख एवं सत्तारुढ दल नेकपाका सांसद ओनसरी घर्तीले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्न पनि संसद अनिवार्य रहेको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले सरकार र सत्तारुढ दलले एकाधिकार लाद्न खाजेको भन्दै तत्काल संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ ।
