अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने दाबी फेरि दोहोर्याउनु भएको छ । अमेरिकी समयअनुसार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले वैध भोटको गणना गरिए आफुले चुनाव जित्ने बताउनुभएको हो ।
आफ्नै प्रशासनले गराएको निर्वाचनप्रति अविश्वास गर्दै उहाँले धोखाधडीपूर्ण रुपमा आफूलाई राष्ट्रपति निर्वाचित हुनबाट रोक्ने खेल भएको आरोप लगाउनुभयो । प्रक्रिया अदालतसम्म पुगेको भन्दै हुलाकबाट मत दिन पाउने व्यवस्था अनुचित थियो र यो विनाशकारी हुने आफूले पहिलेदेखि भन्दै आएको उहाँले जिकीर गर्नुभयो ।
चुनावमा पराजित हुने देखेपछि ट्रम्पको चुनावी अभियानकर्ताहरु मुद्दा बोकेर अदालत पुगेका छन् । नेभेदा, पेन्सिलभानिया, जर्जिया, मिचिगनलगायतका राज्यमा भइरहेको मतगणना रोक्न माग गर्दै उनीहरु अदालत पुगेका हुन् । तर, अदालतले उक्त मुद्धा खारेज गरिएको छ ।