अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 05:45

चुनाव हार्ने निश्चित भएपछि मतगणना रोक्न भन्दै राष्ट्रपति ट्रम्पद्धारा अदालतमा उजुरी

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बिहीबार उजुरी गरेको छ ।राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ ।

पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजुरी गरिएको हो ।उजुरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ ।ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा दुबै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको थियो ।

मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गर्नुभएको छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना जारी रहेको र दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ ।ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ र यसको निरुपण अदालतबाट हुनेछ भन्नुभयो ।

राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आउनु भएको थियो ।उहाँले हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने बताउनु भएको छ ।ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मत गणनाका लागि आग्रह गर्ने घोषणा पनि गरेको छ । यो राज्यमा जो बाइडेनले विजय हासिल गर्नु भएको छ ।

ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गर्नु भएको छ तर कहाँ, कसरी धाँधली भए भन्ने बारेमा केही बताउनु भएको छैन ।बाइडेनले बुधबार नै सबै राज्यमा मत गणना निरन्तर हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्रलाई कसैले अपहरण गर्न सक्दैन – अहिले मात्र होइन, सधैं ।”

पेन्सिलभेनिया राज्यमा कुनै पनि किसिमको धाँधली वा मतपत्रसँग सम्बन्धित कुनै विषय उठेको समाचार आएका छैनन् । यस राज्यमा ३१ लाखले हुलाकबाट मतदान गरेका थिए ।नोभेम्बर ३ भित्र हुलाकमा रजिष्टर भएका मतदाताको मत गणना गर्न सकिने व्यवस्था छ । पेन्सिलभेनिका महान्यायाधीवक्ता जस शापिरोले सिएनएनसँगको अन्तर्वार्तामा ट्रम्प अभियानले दिएको निवेदनको कानुनी भन्दा पनि राजनीतिक महत्व मात्र रहेको बताउनु भएको छ ।

 

प्रतिक्रिया