अमेरिकामा ५० औँ राष्ट्रपतिका लागि मंगलबार अपराह्नबाट मतदान सुरु भएको छ । अमेरिकाको समयअनुसार मंगलबार बिहान सुरु हुने मतदान मंगलबार बेलुकीसम्म हुनेछ। रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन चुनावी मैदानमा उत्रनुभएको छ ।
अघिल्लो पटकको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकनका डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुनुभएको थियो । कोरोना महामारीका कारण यसपटक मतदानको दिनअघि करिब १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन्। ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ।
चुनावअघि भएका सर्वेक्षणहरुले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि बुधबारअघि प्रारम्भिक नतिजा आउन असम्भव देखिएको छ। सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा बढी र चार वर्षअघिको चुनावमा खसेको कुल मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ ।
राष्ट्रिय रुपमा बाइडेन अघि रहे पनि केही महत्वपूर्ण राज्यहरुमा भने सो अग्रता अति साँघुरो देखिएको छ। चार वर्षअघिको चुनावमा सर्वेक्षणहरुले हिलारी क्लिन्टनलाई अघि देखाएको थियो तर चुनावमा ट्रम्प विजयी हुनुभएको थियो ।
भर्मोन्टमा स्थानीय समयअनुसार बिहान ५ बजे (नेपाली समयअनुसार मंगलबार दिउँसो ३ः४५ बजे) नै मतदान सुरु भएको छ भने न्युयोर्कमा बेलुकी ९ बजे (नेपाली समयअनुसार बुधबार बिहान ७ः४५ बजे) सम्म पनि मतदान हुने छ ।