नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेद्वार दर्ता गराउनु भएको छ ।
महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक पटक स्थगित भएको थियो ।