उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विभाजनको दुर्भाग्य निम्तिन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेकपाका सचिवालय सदस्य पोखरेलले सोमबार सामाजिक सञ्जालमार्फत पार्टी एकताका बेला गरिएको सहमतिविपरीत पहिलेकै समूहका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजनको खतरानजिक पुगेको बताउनुभएको हो ।
साथै व्यक्तिगत स्वार्थमा लागेका त्यस्ता व्यक्तिलाई चिनेर खबरदारी गरी पार्टी एकता बचाउन उहाँले अपिल पनि गर्नुभएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरी बनेको सत्तारूढ नेकपाका दुई गुटबीच लामो समयदेखि विवाद छ। खासगरी दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय मतभेद निकै चुलिएको छ। यसबीच ओलीले पार्टी फुटाउनेसम्मको चेतावनी दिएको समाचार आइरहेका छन्।
‘एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’ ट्विटरमा पोखरेलले लेख्नुभएको छ, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’
