अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६
| Colorodo: 01:31
मनैभित्र फुल्छन् चमेली र बेली
म आफन्त मेरो म मेरै सहेली
शरच्चन्द्रिकाझैँ खुलेको छ आशा
छु मान्छे म यौटा हजारौँ तमासा
पराया भयो आफ्नु आफै पराइ
हरे मार्छ मेरै अभिप्शा मलाई
सतायो डुली भीर पाखा पखेरी
भयो चित्त मेरो अचम्मै अटेरी
कसैले नबुझ्ने अनौठो पहेली
म आफन्त मेरो म मेरै सहेली
लिई बस्छ आकाश नौलाख तारा
तिमी छौ उज्यालो छ यो सृस्टि सारा
तिमी मुस्कुरायौ मिलाएर बाना
सुसेल्दैछ छाँगो दिलैको तराना
सधैँ देहमा चुम्छ बैशालु घाम
म आँखाहरूमा भएँ चारधाम
हिँडे कल्पनामा म खेल्दै बयेली
म आफन्त मेरो म मेरै सहेली