अपच भएर अन्याय
असह्य भएर दुराचार
खप्नै नसकेर अत्याचार
त्यो दानवीय सत्तालाई
मुर्दावाद भन्दै डाॅंडो कटाएर
सबैले खुसीले दीप जलाएर
जितको गीत गाउॅंदै
यस माटामा रोपेको
प्रजातन्त्रको बिरुवा
मालीविना
जलविना
मलविना
गोडमेलविना
उसै सुक्दै गयो !
गाउॅंदा गाउॅंदै
लोकतन्त्रको मीठो लय
उसै विलय भयो !
कति रसिलो थियो
गणतन्त्रको गान
गलाहरू सुक्दै गएर
त्यो पनि बिरसिलो हुॅंदै गयो !
खोजेका शान्ति र समृद्धि
कता हराए ?
देखेका गाँस ,बास र कपासका सपना
कता बिलाए ?
स्वास्थ्य , शिक्षा र सुरक्षाका
हालत के भए ?
हाम्रा रहरहरू
कुन हुरीले उॅंडाए ?
खुसीले अबिर दलेका
हाम्रा फराकिला निधारहरू
खुम्चिॅंदै कुन किनारा लागे ?
सयमा दुई चार रमाउनु
के प्रजातन्त्र हो ?
सयमा दुई चारका थैला भरिनु
के लोकतन्त्र हो ?
सयमा दुई चारले रङ्ग बदल्नु
के गणतन्त्र हो ?
विधान किन
धान खाने मुसाहरूको
ओडारभन्दा भिन्न छैन ?
गाॅंठै गाॅंठाले कसिएका
ती नीरस धाराहरूबाट
जलिरहेका आंत रसाउने
निर्मल जल कहिले झर्छन् ?
सत्यको मुख असत्यको थुतुनाले
कहिलेसम्म थुनिरहन्छ ?
के कर्कलाको डाॅंठमा
पीपलको पात जडेपछि
बन्ने हो न्यायको – तराजु ?
“अख्तियार “
कुन लज्जावती झारको नाम हो ?
निरन्तर किन लत्रिन्छ
भ्रष्टहरूसामु र तिनैलाई झन् माला लगाउन तम्सिन्छ !
अशुद्धलाई शुद्ध देख्ने
खै ! यसको आँखा कुन तन्तुले बनेको छ ?
अपवित्रलाई पवित्र मान्ने
खै ! यसको मन कुन यन्त्रले बनेको छ ?
तरबार बोक्नेहरू नै
बारम्बार किन भइरहन्छन्
मानवताका व्याख्याता ?
चोरहरूकै जिम्मामा
सधैँ किन रहन्छन्
देशका खातापाता ?
राम्रा गलहत्याउॅंदै
किन नजरमा पर्छन्
हाम्रा र नातापाता ?
प्रजातन्त्रमा !
के बोल्नेकै मात्र पिठो बिक्छ ?
लोकतन्त्रमा !
के लठ्ठी बोक्नेकै मात्र भैँसी हुन्छ ?
गणतन्त्रमा !
साधुलाई शूली चढाएर
चोरलाई चौतारामा बसाइन्छ ?
प्रश्न गर्न पनि पाइन्छ कि ?
नोटका बिटाले
भोटका बिटा कहिलेसम्म तानिन्छन् ?
मान बोक्ने माननीयहरूका
के के मर्यादा हुन्छन् ?
अज्ञानताले ज्ञानको
कहिलेसम्म उपहास गर्छ ?
आहारा खोजिरहेको पेटले
धैर्य राखेर कहिलेसम्म
उपवास बस्छ ?
जान्न पाए हुन्थ्यो !
विवेकलाई पाखा लगाएर
पाखुराको रजाइॅं कहिलेसम्म चल्छ ?
कुन प्रभुको पाउमा पछारियो – प्रजातन्त्र ?
कुन दूतले लघाऱ्यो – लोकतन्त्र ?
कुन सिकारीको पासोमा पऱ्यो – गणतन्त्र ?
प्रजातन्त्रको जहाज
विवेकले चल्छ कि हावाले ?
लोकतन्त्रको बिरुवा
मालीले जोगाउॅंछ कि मदारी ?
गणतन्त्रको गोडमेल
गफले हुन्छ कि सत्कर्मले ?
भुइॅं छोडेर
उॅंड्दै उॅंड्दै माथि आकाशमा
कता हो कता पुगेर
सानो चराजस्तै देखिन लागेको
त्यो प्रजातन्त्रलाई
त्यो लोकतन्त्रलाई
त्यो गणतन्त्रलाई
सुरिलो लयको
त्यो जनतन्त्रलाई
जिज्ञासाले भरिएका
यी खातै खातका
मसिना प्रश्नहरूको
तल भुइॅंतिर फर्किएर
उत्तर दिने
कुनै दिन फुर्सद मिल्ला ?
***
धुम्बाराही, काठमाडौॅं ।