अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 10:25

फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्दोद्वारा पैगम्बर मोहम्मदको विवादास्पद कार्टून पुनः प्रकाशन

बिआरटीनेपाल २०७७ भदौ १६ गते २३:५९ मा प्रकाशित

फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्दोले पैगम्बर मोहम्मदको विवादास्पद कार्टून पुनः प्रकाशित गरेको छ । सन् २०१५ मा प्रकाशित कार्टूनका कारण चरमपन्थी आक्रमणको निशाना बनेको शार्ली एब्दोले ती कार्टून पुनः प्रकाशित गरेको हो । सन् २०१५ को जनवरी ७ मा शार्ली एब्दोको कार्यालयमा कार्टूनलाई लिएर आक्रमण हुँदा पत्रिकाका प्रसिद्ध कार्टूनिस्टसहित १२ जनाको ज्यान गएको थियो ।

त्यसको केही दिनपछि पेरिसमा भएको अर्को आक्रमणमा पाँचजनाको ज्यान गएको थियो । फ्रान्समा चरमपन्थी आक्रमणको क्रम त्यहिँबाट सुरु भएको थियो ।शार्ली एब्दोको कार्यालयमा भएको आक्रमणका लागि सहयोग गरेको अभियोगमा मुद्धा दायर गरिएको १४ जनाको सुनुवाई सुरु हुनुपूर्व शार्ली एब्दोले ती कार्टून पुनः प्रकाशित गरेको हो।

पत्रिकाको पछिल्लो संस्करणको कभर पेजमा पैगम्बर मोहम्मदका ती १२ कार्टून छापिएको छ, जसलाई शार्ली एब्दोमा प्रकाशित हुनु पूर्व नै डेनमार्कको एक पत्रिकाले छापेको थियो।एक कार्टूनमा पैगम्बर मोहम्मदको टाउकोमा बम बाँधिएको देखाइएको छ । फ्रान्सेली भाषामा लेखिएको हेडलाइनको अर्थ थियो–त्यो सबै यसकै लागि थियो ।

सन् २०१५ मा भएको आक्रमणपछि लगातार पैगम्बरमाथिका व्यंग्यचित्र छाप्ने क्रम नरोक्न आग्रह आउने गरेको पत्रिकाले आफ्नो सम्पादकीयमा लेखेको छ। कानूनले दिए पनि ती कार्टून छाप्नका लागि उपयुक्त समय चाहिने र अहिले सो आक्रमणमाथिको सुनुवाई सुरु हुनु पूर्व प्रकाशित गर्न उचित लागेको सम्पादकीयमा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय