कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वका धेरै देश सङ्कटमा परेका छन् । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण त्यसको केही हप्तामा नै विश्वका धेरै देशमा फैलियो । अहिले विश्वका दुई सय १३ देश कोरोनाविरुद्ध लडिरहेका छन् । अहिलेसम्म कोरोनाका कारण विश्वका ८ लाख १३ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । तर विश्वका यस्ता केही देश छन्, जहाँ अहिलेसम्म कोरोना पुगेको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विश्वका १० देशमा अहिलेसम्म कोरोना सङ्क्रमण पुगेको छैन । कोरोना सङ्क्रमण नदेखिए पनि यी देशमा कोरोनाले भने असर पुर्याएको छ । कोरोनाका कारण विश्वकै अर्थतन्त्र डामाडोल भएकाले ती देशमा पनि आर्थिक समस्या परेको समाचारमा जनाईएको छ ।
कोरोना सङ्क्रमण नदेखिएका विश्वका १० देशहरुमा पलाउ, माइक्रोनेशिया, मार्शल आइल्याण्ड, नाउरु,किरिबाती, सोलोमन आइल्याण्ड ,तुवालु , समोआ, भानुअतु र टोङ्गा रहेका छन् ।
–एजेन्सी