पत्रकार दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित हुनुभएको छ । उहाँलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गर्नुभएको हो । पत्रकारिता मार्फत समाजलाई दुई दशक लामो योगदान दिए बापत परियारलाई सम्मान गरिएको हो ।साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।सभामुख एरिक एडम्सले साइटेसनमा भन्नुभएको छ, ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामीक पत्रकार परियारलाई म, सबै ब्रुकलनिटहरुको तर्फबाट अभिवादन गर्छु ।
सर्वसाधारणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने परियारको अनुभवको उच्च मुल्याङ्कन गर्दछु ।’ खसोखासका प्रधान सम्पादक किशोर पन्थीले परियारको सम्मानले आफूलाई समेत गौरवान्वित बनाएको बताउनुभयो । परियार खसोखासका सम्पादक समेत हुनुहुन्छ । स्थापनाकाल देखि जागरण मिडिया सेन्टरको नेतृत्वमा रहेका उहाँ हाल सेन्टरका सल्लाहकार रहनुभएको छ । उहाँ अन्य विभिन्न संघसंस्थामा समेत संलग्न हुनुहुन्छ । अमेरिकामा पनि उहाँ नेपाली सहित दक्षिण एसियाली समुदायमा सक्रिय छन् ।
परियारले पाएको सम्मानले पत्रकारिता मार्फत सामाजिक अभियानमा थप सफलता मिलेको सामाजिक अभियन्ता नवराज केसीले बताउनुभयो । अमेरिकामै रहेका लेखक एवं पत्रकार राजन थपलियाका अनुसार परियारको सम्मानले नेपाली समुदायलाई थप हौसला प्रदान गरेको छ ।