अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 20:53

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नेता नाभल्नीलाई विष दिइएको आशंका, अवस्था गम्भीर

बिआरटीनेपाल २०७७ भदौ ४ गते २१:३१ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक विपक्षी एलेक्सी नाभल्नीलाई विष दिइएको आशंका गरिएको छ ।गम्भीर अवस्थामा अस्पतालमा उपचाररत नाभल्नीलाई चियामा हालेर विष दिइएको आशंका गरिएको छ । अधिकारीहरुले उहाँको अवस्था गम्भीर रहेको जनाएका छन् ।रुसमा भएको भ्रष्टाचार र पुटिनको मनोमानी शासनविरुद्ध आक्रमक अभियान छेडिरहेका नाभल्नीलाई चियामा विष हालेर दिइएको भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किरा यरमिशले बताउनुभएको छ ।

बिहीबार बिहान टम्सकबाट विमानमा मस्को फर्किरहेका बेलादेखि उहाँ एक्कासी विरामी भएपछि आकस्मिक रुपमा ओम्स्कमा विमान अवतरण गराई अस्पताल लगिएको किराले जानकारी दिनुभयो ।राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभल्नीले गत जूनमा संवैधानिक सुधारका नाममा गराइएको मतदानलाई संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको थियो ।सोही जनमत संग्रहको बहानामा पुटिनलाई अरु दुई कार्यकाल फेरि राष्ट्रपति बन्ने बाटो खुलाइएको छ ।

भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किराका अनुसार विहान उहाँले चियाबाहेक अरु नखाएकाले त्यसैमा विष मिलाइएको हुनसक्ने जानकारी दिनुभएको छ ।नाभल्नी राखिएको अस्पताललाई प्रहरीले नियन्त्रणमा लिएको, अस्पतालले परीक्षणमा ढिलाई गरेको र सूचनासमेत नदिइएको आरोप यारमिशले लगाउनुभएको छ ।भ्रष्टाचारविरुद्ध अभियानमा रहेका नाभल्नीले पुटिनको यूनाइटेड रसिया पार्टीलाई ‘बदमाश र चोरको पार्टी’ भन्ने गर्नभएको छ । पुटिन सत्ताले उहाँलाई कयौं पटक जेल पठाइसकेको छ ।

२०१३ मा जेल पठाइएका उहाँलाई सन् २०१८ भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार नै बन्न दिइएन ।फेरि सन् २०१९ जुलाईमा अनधिकृत रुपमा विरोध प्रदर्शन गरेको आरोपमा एक महिना जेल हालिएको थियो ।जेलमै हुँदा पनि उहाँ स्वास्थ्य नराम्ररी बिग्रिएको थियो । त्यही बेला पनि उहाँलाई विष दिइएको आशंका गरिएको थियो ।

सन् २०१७ मा त उहाँमाथि घातक आक्रमण नै गरिएको थियो । जसका कारण उहाँको आँखामा समस्या भएको थियो । पुटिन सरकारले नाभल्नीको एन्टी करप्सन फाउण्डेशनलाई विदेशी एजेन्ट नै घोषित गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय