रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ ।शंकास्पदरुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किरा यर्मयशले दिएको जानकारीअनुसार बिहीबार बिहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उहाँले असहज महसुस गर्नुभएको थियो ।
‘उहाँले उडानकै बेलामा अप्ठ्यारो महसुस गर्नुभएको थियो । ओम्स्कमा विमान आकस्मिक अवतरण गरिएको थियो’-सञ्चारसचिव किराले भन्नुभयो ।उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।
अवस्था जटिल भएपछि उहाँलाई अहिले अतिसघन उपचारकक्ष (आइसीयु)मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । ओम्स्क विमानस्थलले पनि एकजना हवाईयात्रीको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्री रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ ।