अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 18:22

राष्ट्रकवि प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बिआरटीनेपाल २०७७ भदौ ३ गते ६:२८ मा प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको सम्मानमा नेपाली सेना तथा शसस्त्र प्रहरीको टुकडिले सलामी अर्पण गरेको थियो । स्वर्गीय घिमिरेको पार्थिब शरीरमा दुई छोराले दागबत्ती दिनु भएको थियो ।

यसअघि विहान लैनचौरस्थित उहाँको निवास पुगेर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । घिमिरे केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

उहाँको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो । वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि बन्नुभएको थियो ।बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि उहाँले भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा रहेर काम गर्नुभएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो ‘आजै र राति के देखेँ सपना’ निकै चर्चित छन् ।घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । शतायु बाँचेर देहावसान हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ प्रकाशनको अन्तिम चरणमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू