अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 08:22

अमेरिकाको सिन्सिनाटीमा हिंसा भड्किदा गोली चल्यो, कम्तीमा ४ जनाको मृत्यु, १८ जना घाइते

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५६ मा प्रकाशित

अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार राति साढें १२ बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो ।

शहरका अन्य भागमा गोली लागेका अरु ३ जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।

सहायक प्रहरी प्रमुख पल नुडिगेटले उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको बताउनुभएको छ । सिन्सिनाटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयवासीसँग आग्रह गर्नुभएको छ ।

प्रहरीले प्रभावित इलाकाहरुमा जनधनको सुरक्षाका लागि थप प्रहरी परिचालन गर्ने जनाएको छ । गैरकानुनी हातहतियार र शंकास्पद व्यक्तिका बारेमा निगरानी बढाउन प्रहरीले संघीय निकायहरुसँग आग्रह गरेको छ । सिन्सिनाटी नगरका मेयर जोन क्रान्लीले बन्दुकको भरमा हुने यस्ता हिंसाले निर्दोष आम मानिसको जीवन खतरामा पार्ने भएकाले नागरिक र प्रहरी दुबै मिलेर हिंसा नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू