अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 16:52

भेनेजुएला हिँडेको इरानी कार्गो ट्याङकर अमेरिकी नियन्त्रणमा

बिआरटीनेपाल २०७७ साउन ३१ गते ६:४८ मा प्रकाशित

अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याङकर नियन्त्रणमा लिएको छ ।अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्न चाहेको बताएका छन् ।गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो ।अधिकारीहरुका अनुसार मदानीपोरको सम्बन्ध इरानी क्रान्तिकारी गार्डसँग निकट सम्बन्ध रहेको छ । अमेरिकाले इरानी क्रान्तिकारी गार्डलाई आतंकवादी संस्थाको रुपमा सूचीकृत गरेको छ ।

एकजना वरिष्ट अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् ।अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, बिमा कम्पनी र क्याप्टेनलाई जहाज अमेरिकी अधिकारीसमक्ष बुझाउन चेतावनी मात्र दिइएको बताएका छन् । उक्त जहाज अब अमेरिकी सम्पत्ति भएको छ ।

न्यायाधीवक्ताका अनुसार चारवटा इन्धन ट्याङकर बाट ११ लाख ब्यारेल ग्यास भेनेजुएलातर्फ पठाइएको थियो । तर यी जहाज भेनेजुएला पुग्न पाएका थिएनन् र बीचमै बेपत्ता भएको ठानिएको थियो । दुई वटा जहाज भने केप भर्ड नजिक पुनः देखा परेका थिए । भेनेजुएलाका लागि इरानी राजदूत होजाड सोल्तानीले तेल ट्याङकर र त्यसका मालिक दुबै इरानी नभएको दाबी गर्नुभएको छ ।

सोल्तानीले ट्वीट गर्दै भन्नुभएको छ, “यो अर्को झुठ हो र अमेरिकी प्रपोगन्डा संयन्त्रद्वारा चलाइएको अर्को मनोवैज्ञानिक युद्ध हो ।”बेल्ला, बेरिङ, पान्डी र लुना नाम गरेका यी चारवटा जहाज वा त्यसमा रहेको कार्गोका विषयमा हाल केही स्पष्ट हुन सकेको छैन ।जहाजका क्याप्टेनहरुले पनि एक साताअघिदेखि नै आफ्ना ट्राकिङ उपकरण बन्द गरिदिएका छन् ।

अमेरिकी प्रतिबन्धसँगै अन्तर्राष्ट्रिय व्यापारिक समूहसँगको कारोबार घट्न थालेपछि पछिल्लो समय भेनेजुएलाको निकोलास मदुरो सरकारले इरानसँग सम्बन्ध प्रगाढ बनाउँदै लगेको छ ।गत मे महिनामा मदुरोेले पाँचवटा इरानी पानीजहाजबाट इरानी इन्धन आफ्नो देश आइपुगेको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । त्यसबखत राजधानी काराकास सहित प्रमुख शहर बजारमा तेलका लागि मानिसहरुलाई लामो लाइन बस्नु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय