चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ । तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ ।
देवघाटमा आज साँझ गरिएको मापन अनुसार बाढी उर्लिएर सात दशमलव ६२ मिटर माथि पुगेको छ । देवघाटमा सात दशमलव तीन मिटरसम्म सतर्कताको तह र आठ मिटर पुगेमा खतराको तह मानिन्छ । यसैगरी नारायणगढ पुलमा मध्याह्न १२ गरिएको मापनमा नारायणी नदीको बाढी ११ दशमलव ३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ ।
केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ । यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गर्दै साइरन बजाइएको छ ।
