अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 12:16

औपन्यासिक वृत्तमा बिपीको ‘सुम्निमा’

युवराज मैनाली २०७७ साउन २० गते १३:०४ मा प्रकाशित

(समालोचना)

जो रहेका हुन्छन् उनीहरूप्रतिको दायित्वबोधमा सुषुप्तीकरण अनि तिनैका भौतिक अवसानपछि मूल्य र मान्यता खोस्रने परिपाटीको जोडतोड । यो विकृत संस्कृति हामी गर्न सक्दैनौँ किन तोडफोड । सालिकलाई घिसारेर, पछारेर रोलरको दबाब–चापले धुलो पीठो पारेर सम्याए पनि चिन्तनको भूत, विश्वव्यापीकरणको आबहवामा पनि फुस्सामा लटपटिँदा छन्, किन ? भूसको आगो मान्छेमान्छेमा तृप्त सुषुप्तावस्थामा किन अझै विद्यमान ? विभेदको दावानल र विलगतको ताप यो हो हाम्रो सामाजिक संस्कार अनि यसलाई अरू अरू क्षेत्रझैँ राजनीतिले खेल्ने गरेको कठपुतली खेलाइको चमत्कार । यस परिस्थितिमा साहित्यिक क्षेत्र मात्र अलग कसरी रहन सकोस् त ? तर पनि समयले यहाँ आफ्नो एक पल क्षणमा एउटा विलक्षण उज्यालो पिण्ड पनि फुत्त हुत्त्याएको छ जो राजनीतिमा रत्तिइँदै पनि नेपाली साहित्यिक क्षेत्रमा विधागत अगुवाकै रूपमा उभिए । उनैले आफ्नो जीवन कथा सङ्घर्षका दिन सम्झँदै यसरी कोरे –

‘….. चनामा धेरै गुण छन् – सस्तो, कम्ती मात्रामा नै पर्याप्त भोजन पुग्ने र त्यसलाई पानीमा ढड्यायो भने आकारमा वृद्धि हुना साथै नुन छर्न पाइयो भने सुस्वाद्य पनि हुने ….’ औरङ्जेवले आफ्ना पिता शाहजहांँलाई थुनेर राख्दा कष्ट दिने नियतले सोधी पठाए बुवाले एक प्रकारको अन्न मात्र खान पाउने …. कुन अन्न रुचिकर ….. दुनियाँको मालिक, कलाकार शाहजहाँले बन्दी गृहबाट उत्तर पठायो – ‘चना’ ।

यहाँ विम्ब प्रतिबिम्बित छ । यावत उनको लेखनको चमत्कार एउटा यो पनि हो । हो, यहाँ चर्चाका क्रममा छ उनै वी.पी. कोइरालाको लेखन पक्षबारे । उनको औपन्यासिकताको सिर्जन पक्षबारे । यिनैबारे थुप्रै थुप्रै लेखिसकिएका छन्, अझै लेखिँदै छन् । राजनीतिक व्यस्तताका कारणवश उनका उपन्यास दर्जनौँ पाउँदैनौँ, यस्तै अरू विधामा पनि तर थोरै विधामा पनि गुणात्मकताको प्रभावकारिताले उनका साहित्यिक कृतिहरूमा छाएको देखिन्छ । कुण्डकुण्ड पानी मुण्डमुण्ड धारणाको धारमा एउटा विचार उर्लिएको छ यतिखेर ‘सुम्निमा’ उपन्यासकै सेरोफेरोमा ।

चीर स्थायित्वको जडसूत्रतामा अडिन, बाँधिन्न कुनै पनि कुरा । परिवर्तन नै प्रवृत्त रहेको छ निरन्तर यो चराचर जगत । यही प्रवृत्तिको भूमरिदर्शन भेटिन्छ मूलतः ‘सुम्निमा’मा । प्रकृतिको लीला भनूँ वा गुणवत्ता मात्र उही वृत्तमा घुमिरहन सक्दैन भने मानवीय परिधिले आदर्श नियम–विनियममा मात्र अल्झिरहने कुरै रहँदैन । यस कुराको तानावाना उपन्यासले बुनेको छ स्पष्टसँग । वस्तुतः उपन्यासकार विश्वेश्वरप्रसाद कोइराला विश्लेषणात्मक शैलीका उपन्यासकार र कथाकार हुन् । रतिरागात्मक मेघको आछन्नतापूर्ण आकाश–वर्षा उनको लेखकीय तृप्तता हो । मनोविश्लेषणात्मक बालाको लहलहाई उनको साहित्यिक खेतबाली हो । मूल्य र मान्यताको परिधि सीमा नाघेकै भान पर्ने गरी मानवीय व्यवस्थापनभित्रको सुदृढ क्षेत्रको टेकाइको आकाङ्क्षा उनको लेखन तात्पर्य उपन्यासमा छर्लङ्गिएको छ । आवश्यकता नै सिर्जनकी जननी हुन् भन्ने घटनाक्रमलाई जीवन्त पार्न आफ्नो लेखन प्रवृत्तिमा उद्यत रहेको दृष्टिगोचर रहेको छ । यथार्थ मानसिकताको तानावाना उनको लेखकीय उद्देश्य भेटिन्छ ।

यी सब कारणहरूबाट बि.पी.को औपन्यासिक स्वरूप पनि चनामय बन्न पुगेको छ जुन ‘कि छोराले खान्छ, कि घोडाले खान्छ’ समान रहन पुगेको देखिन्छ । ‘सुम्निमा’को चर्चा पूर्व उनका अन्य उपन्यासको छोटो चर्चा यहाँनेर प्रासङ्गिक रहन्छ । दाम्पत्य जीवनभित्रै रहेर पनि त्यसको सुखभोगबाट वञ्चित ‘नरेन्द्र दाइ’ की गौरीमा उठ्दो यौवन ज्वार सानो बाबुप्रति लुटपुटिनु गौरीमा रहेको अन्तर वेदनाको कुण्ठा बाह्यान्तर अवस्था हो । मानवीय सकारात्मक वा नकारात्मक प्रभावले वैयक्तिक जीवनको दिशा निर्देशन गर्दछ । मान्छेमा निहित रति रागको प्रभाव पनि मान्छेमा त्यति नै निर्बाध गतिले रहनुपर्दछ जसलाई छेको लगाएर कुनै तह र प्रकारबाट अवरुद्ध पार्न खोजियो भने अवरुद्धताको बाँध फुटेर छताछुल्ल हुन पुग्छ । वेगको स्वभाव स्वतः उग्रताको परिचायक हो । उग्रताको परिणाम सीमोल्लङ्घन नै हुन आउँदछ । मर्यादित नारी गौरीमा जुन उफान आउँछ त्यसलाई साम्य पार्न नभए पनि मत्थर पार्न सानुबाबु एउटा माध्यम हो । विवाहको व्याख्या र आदर्श अनि अस्तित्व हेतुमा जब चोट पुग्दछ, चर्किने वातावरण बन्दछ तब अन्तर इच्छा शक्ति विद्रोही बनेर प्रकट हुन पुग्छ । यही स्वरूप उजागर भएको छ ‘नरेन्द्र दाइ’मा ।

गौरीको चुम्बकत्वले तान्न नसकेको नरेन्द्ररूपी फलाम मुनरियाले गालिदिन्छे । यहाँ उपन्यासकारले प्रेमै भनी नटोपले पनि आकर्षणको नमुना उपस्थित गराइदिएका छन् । हो, आकर्षणको दृष्टिकोण व्यक्ति व्यक्तिमा सन्निहित पाइन्छ । त्यो फरक–फरकले उपेक्षित र अपेक्षित बन्दछ । अपेक्षित उपेक्षित कुनामा मिल्किन्छ । यी प्रक्रियाहरू हाम्रै समाजमा स्वअवलोकनमा आउँदै जाँदै गरेका परिदृश्यहरू हुन् पनि । ‘गुण, दोष, असल, खराब प्रकृति र कर्मको व्यक्तिगत वा सामाजिक उत्तरदायित्वबाट सजिलैसित पन्छिन सकिने स्थिति वा सम्प्रेस्थितभन्दा पनि यहाँ मानवीय संवेग र संवेदनाको बलौटे घरको ठड्याईको कारक तत्त्व पहिल्याउने र त्यसलाई इङ्गित गरेर ठोस कोशेढुङ्गायुक्त मजबुद घर–समाजको परिकल्पना उपन्यासकारको रहेको देखिन्छ । दौर्वल्यता नै सम्पूर्ण मानवीय प्रवृत्तिका छेको हुन् र त्यस छेकोलाई हुत्त्याउन सबल वातावरणको आग्रह यस उपन्यासको हो । मात्र रतिरागात्मक पक्षलाई सबल तुल्याउन अन्य पक्षलाई दमित तुल्याउने औचित्यलाई समेत नकारिएको विशेषता बि.पी.को औपन्यासिक वैशिष्ट्यता नै हो । यस परिप्रेक्ष्यमा बि.पी.का नरेन्द्र दाइदेखि आत्मकथासम्म पनि सम्वेग यथार्थ दर्बिलो धर्ती टेकाइका लयबद्ध प्रस्फुरण उनको लेखन दर्पणमा खेल्ने गर्दछन् ।

हुन त रतिरागात्मक पक्षमा पूर्वीय जीवन वृत्तमाथि भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्लहरू पनि सामाजिक परिवेशका बन्द पर्दा उघार्न उद्यत नरहेका होइनन् । तिनका आफ्नै प्रकारका जुन अवलोकन र संरचनाको गठन छन् ती आफ्ना ठाउँमा छँदै छन् तर बि.पी.का उपन्यासहरूमा जुन प्रकारको मनोविश्लेषण, अस्तित्वको यथार्थ उजिल्याउने र मानवीय चरित्रहरूका खाका कोरिएका छन् तिनले विकृतिजन्य विकारहरूलाई समुचित औषधिजन्य उपचारको पनि व्यवस्थापन गरिएको पाइन्छ । उनमा यो गुणात्मक स्वरूपको प्रादुर्भावमाथि जोसुकैले जेसुकै धारणा राखोस् यथार्थमा उनको जीवनहरूबिचको सामिप्यता अनि अध्ययनशीलताकै पकडको परिणामले भएको मान्न सकिन्छ । राजनैतिक जीवनको यात्राको व्यस्तता र जेल जीवनको विश्रान्तिको क्षण । यही पछिल्लो क्षणको दुवै समावेश सिर्जनक्षणको प्रादुर्भावको चिनारी हुन् – साहित्यकार विश्वेश्वरप्रसाद कोइराला । साहित्यिक संसारमा हिन्दी भाषाबाट ओर्लिएका बि.पी. आधा दशकतिर मात्र नेपाली साहित्यिक फाँटमा देखा परेका हुन् । अरू अरूझैँ सुरूमा कविता नै उनको विषयवस्तु रह्यो । वि.सं. १९९१ देखि कथा विधामा उनी देखा परे । पछि कविता, निबन्ध, आत्मकथा, कथा हुँदै उपन्यासमा पदार्पण गर्न पुगेका बि.पी.को पहिलो उपन्यास ‘तीन घुम्ती–२०२५’ ले उनको आफ्नो व्यक्ति एवम् व्यक्तित्वको अन्तर्द्वन्द्व राजनैतिक चरित्रको मानसिक स्वरूप छर्लङ्गिन पुगेको देखिन्छ । उनका कथासङ्ग्रहमा ‘दोषी चस्मा–२०२६’, ‘श्वेतभैरवी–२०३५’ आदि हुन् । उनका उपन्यासका स्वरूप प्रायशः अत्याधुनिक पाराका छन् । लघु वृत्तमा आवृत्तिक उपन्यासहरू समयसापेक्ष एवम् रोचक बुनौटले सजिएर प्रस्तुत हुन पुगेका छन् । मानव जीवनका आवश्यकताहरू परिधिगत एवम् परिस्थितिगत प्रक्रियाहरूको सेरोफेरोमा आवृत्त छन् । आवश्यक प्यासका बुँद बुँद अन्तरबाट फोएर प्रस्फुटन हुन पुग्ने लालसा प्रकट हुने गर्दछन् ।

‘तीन घुम्ती’ उपन्यासमा बि.पी.को यथार्थ जीवनको सन्निकट स्वयंलाई प्रतिबिम्बित गर्दै प्रवाहित तुल्याउँदै वहेको पाइन्छ । जीवन मात्र कोरा कल्पना अनि आदर्शमा सन्निहित छँदै छैन । भौतिक र आध्यात्मिक दोबाटोमा यथार्थको परिचालन उजागर नै जीवनको सत्य उजागर हो । यही सत्यको उजागरलाई नै लेखन प्रतिबिम्बित कार्यलाई कर्मको सोपानमा दृढ उभ्याइमा उपन्यासकार देखा परेका छन् । वस्तुतः बि.पी.को उभ्याइभित्रका परिचयात्मक स्वरूप हो ‘तीन घुम्ती’ । बि.पी.को स्वयं चेतनतत्व मानवीय स्वतन्त्रताका कुरा प्रथम पक्ष हो । यो पक्षबाहेक अरू सबै दर्शन र आस्था गौण पारेर आफुलाई दृढ रूपमा उभ्याउने सामथ्र्यता नै उनको यथार्थ पहिचान हो । यही पहिचानमा बि.पी. डटेका छन् – परिवर्तनहरूका बिच आस्थाका मैदानमा निरन्तर रूपमा । यसै गरी साहित्यिक क्षेत्रमा उपन्यासकार बि.पी. उपर्युक्त सबै धारबाहेक नारीवादी चेतना र अस्तित्वको फाँटका वायुवेग स्वरूपमा चाहर्दछन् । आफ्नो स्वगत पहिचानको स्वभाव पोख्दछन् – ‘तीन घुम्ती’ उपन्यासमा पनि । इन्द्रमाया नायिका हुन् तर यथार्थकै पहिचानमा नायक हुन् । विद्रोहको काउसो हुन् । समाजलाई कन्याउन लाउँछिन् उनी । उनको गुण वा अवगुण पक्ष चिलाउनु हो आफैँ कन्याउनु होइन तर पनि कन्याउन पुग्दछिन् उनी; शक्ति, आडम्बर अनि प्रभाव शून्यतामा । जातीय विभेद मानवीय समताको विरुद्ध आवाजका स्वरूप प्रतीकात्मक रूपमा छिन्–इन्द्रमाया । पूर्वीय दर्शन र समाजको बागडोर सम्हाल्दछ उपन्यासको स्वरूपले । मानवीय पक्षको पाटोपाटो केलाउने क्षण, पल, दृष्टिकोणहरू निकै आवरणात्मक र सम्वेदनात्मक एवम् परिवर्तनोन्मुख सामाजिक क्रान्तितर्फ उन्मुख रहेका छन् । नारीवादी चेतना र अस्तित्वको सिङ्गो धरातल चाहर्दछ – ‘तीन घुम्ती’ उपन्यास ।

जातीय चिनारीमा आफूm नेवार रहेर पनि उपल्लो जात बाहुन पीताम्बरलाई आफ्नो जीवनसाथी रोजेर स्व–स्वतन्त्रताको रक्षातर्फ उद्यत हुन्छिन्–इन्द्रमाया । राजनैतिक सक्रियताको सेरोफेरोमा पीताम्बर जेल परेपछि मोड लिन्छ इन्द्रमाया समर्पणको दोबाटोतर्फ । पति–मित्र रमेशसँगको देहिक सम्पर्कको अभाव खट्केर वा भनूँ तीव्र प्यासबाट आक्रान्त भई गर्भवती बन्न पुग्छे–इन्द्रमाया । (यहाँ उपन्यासकारले दोस्रो घुम्तीको सिर्जना गर्न पुगेको देखिन्छ ।) रमेश जेलबाट छुटेकै दिन इन्द्रमाया प्रसव हेतु अस्पताल पुगेकी हुन्छे । पीताम्बर निरपेक्ष रूपबाट अस्पताल पुग्दछ –
इन्द्रमायालाई हेर्न । (यहाँ द्वन्द्व छायाँ र मोहका अन्तर्द्वन्द्व अपरोक्ष रूपले प्रस्ट्याएका छन् उपन्यासकारले अनि समर्पितप्रतिको दायित्वबोध र प्रेमको निर्देशित मनोहर दर्शनको उत्कण्ठाको छवि मनोविश्लेषणात्मक क्षमताको कला उजिल्याएका छन् ।) निरपेक्ष हुन खोज्छन् पीताम्बर, उदार हुन खोज्छन् तर तेस्रो नव आगन्तुक व्यक्तित्वको उपस्थिति अनि अन्तर्मनको द्वन्द्वमा अभिन्न जित्न पुग्दछ, पुरुष अहङ्कार । यहीँनेर एउटा पटाक्षेपको सङ्केत देखिन्छ दोस्रो मोडको । अर्थात् द्वन्दको परिणतिमा इन्द्रमायाको जीवनको तेस्रो घुम्ती पदार्पण हुन पुग्दछ । एउटाको अन्त्य, दोस्रोको आरम्भझैँ इन्द्रमाया प्रेमी पतिबाट छोरीमा समर्पित बन्दछे । नारीको पलपल मात्र समर्पण स्वत्व र स्वतन्त्रताको कुरोमा टेको । कुनै टेको विना उनी उभिनै सक्दिनन् कि ? एउटा प्रश्न झीनै रूपमा भए पनि यहाँ उठ्न पुगेको देखिन्छ । यसैको स्पष्टतामा पीताम्बरबाट छुट्टिएपछि समर्पिताको अर्को चिनारी नारी इन्द्रमाया छोरीप्रति समर्पित बन्दछे । तेस्रो घुम्ती आरम्भ, अन्त्य रोचक र क्लाइमेक्सपूर्ण तुल्याउन यहाँ प्रयुक्त घटनाक्रम पूर्वकथाको रूपमा संयोजित रहन पुगेको छ । यसो रहनाले उपन्यासले वेग्लैखालको कलात्मकता अङ्गीकार गर्न पुगेको पाइन्छ । मनोविश्लेषणको धारले हाँगाहरू फैलाएका छन् । छोरी रमा समय प्रवाहको वेग स्वरूप जीवनसाथीको वरण अनि आसिका निम्ति उभिनु उपन्यासको आरम्भ अनि अन्त्य । यसैले उपन्यासकारको आशय स्पष्टिन्छ, उद्देश्य उघ्रिन्छ, लक्ष्य पूरित हुन पुग्दछ ।

‘नरेन्द्र दाइ’–लाग्दछ उपन्यासकार बि.पी. भित्र नारीका स्त्रिया चरित्रको उत्कण्ठाको थोपा थोपा अन्तरभित्र असीमित पारामा उर्लंदा छन् । यसैले नरेन्द्र दाइमा पनि मूलतः नारी चरित्र अनि पुरुष समर्पणका नामहरूमाथिकै चिरफारमा उद्यत देखिन्छ । फ्रायड मनोविश्लेषणको धार भनिए तापनि बि.पी.का उपन्यासहरूमा विचार र दर्शनको नवीन प्रयोग खुलस्त हुन्छ ।

‘नरेन्द्र दाइ’ भित्रको नारी पात्र गौरी र मुनरियामध्येका पुरूषपात्र नरेन्द्र घटनाक्रमका प्रमुख पात्र हुन् । तराईका जमिन्दार कप्तान साहेबका पारिवारिक हैकम संस्कारमा नरेन्द्रको विवाह बाल्यावस्थामै गौरीसँग हुन पुग्छ । संस्कारकै आबहवामा नरेन्द्र चाहिँ स्वतन्त्र प्रेम भोकमा भौँतारिँदै नोकरकै गौना भेसकैकी छोरी मुनरियासँग आशक्त हुन पुग्दछ र आशक्तिकै मेलमा दुवैको पलायन हुन पुग्दछ । यसअघि नै तिनीहरू बारेको मेलोमेसो ‘सान्दाइ र सान्नानी’बाट सबैले थाहा पाइसकेका हुन्छन् र कुरा गौरीको पनि पुग्दछ र समर्पित गौरीले मुनरियालाई लोग्नेसँगै यतै (घरमै) रहन र आफूmबाट कुनै प्रकारको बाधा नबन्ने आशययुक्त पत्र लेख्दछे तर त्यसको केही प्रभाव पर्दैन । त्यसपछि गौरी अन्तरमुखी रहन थाल्दछे । उसमा यौनजन्य उन्माद चढ्न थालेको हुन्छ, ऊ भरखर किशोर पनामा झुल्कन थालेका देवरलाई अठ्याएर म्वाइँ खाने आदि प्रतीकात्मक व्यवहार गर्न थाल्दछे । देवरले सान्दाइ मुनरिया, नरेन्द्र र गौरीको स्वभावजन्य कुराहरूको भेउ पाइसकेको हुन्छ । सान्दाइ पढाइको लागि बनारस पुग्दछ । त्यहीँ अभावबाट जीर्ण अवस्थामा उनको भेट मुनरियासँग हुन्छ । त्यस भेटमा केही समय काठमाडौँमा बसेपछि बनारस आइपुग्दा नरेन्द्रको स्वास्थ्य खस्केको र आफु पेटको लागि नाचगान गरेर बसेको कुरा बताउँछिन् । नरेन्द्र पनि आफ्नो गिर्दो अवस्थाबाट क्लान्त भई गाउँ फर्केको कुरा पनि हुन्छ । मुनरियाका बाबु पिरले मरिसकेको हुन्छ साथै कप्तानी आमाका साथै नरेन्द्रका मान्यजनहरूले पनि संसार छाड्दै गरेका हुन्छन् । यसैबिच नरेन्द्र पनि क्षयरोगले बित्दछ । बनारसबाट सान्दाइ फर्कन्छ र सान्दाइलाई गौरी भन्दछे–‘अब नरेन्द्र कतै जाँदैनन् । उनी अब मेरा भए । अब मेरा नरेन्द्रलाई सजिलैसँग कुनै मुनरियाले छुन सक्दैनन् ।’ मानसिक क्लान्त गौरी शारीरिक रूपमा पनि ओरालोतर्फ डोरिन थाल्दछे । सान्दाइ गौरीलाई कोसी प्रान्तको त्यस आवहवाबाट टाढा पार्न वीरगन्ज पुर्‍याउँछन् र आफू बनारस पुग्दा मुनरियाको कायापलट स्वरूप देख्दछ । मुनरिया गरगहनाले झकिझकाउ अनि मोटी र खाइलाग्दी भई पसल धन्दामा रहेकी हुन्छे । परिवर्तनका मूल्यमा नारीका अवस्था र सम्झौताका चरण जीवन मोहको रूप यहाँ उजिल्लिएको छ ।

उता गौरी नरेन्द्रको घरमा पदार्पण भएपछि न त नरेन्द्रबाट माया नै पाउन सक्छे न त घृणा नै । यस अवस्थामा पनि निरपेक्ष रहनु सम्भव भए पनि दैहिक ज्वारलाई दबाउन नसकिएको दुर्बलता गौरीमा उजागर गरिएको छ भने मुनरिया त्याज्य अवस्थामा पनि बाँच्नुको परिधिमा अनन्त सफल देखाइएको छ । द्वन्द्व यहाँ नैतिक पक्ष र अनैतिक पक्षमा छ । नरेन्द्रको मृत्युले गौरीलाई विजित तुल्याएको छ तर शून्य साम्राज्यको प्राप्तिलाई प्राप्ति मान्न सकिएला त ? प्रश्न यही छ । प्रादेशिक सांस्कृतिक सामाजिक पृष्ठभूमि र बान्कीका तारतम्य नरेन्द्र दाइको विशेषतामध्येको एक हो । अस्तित्व, नियति, नैतिकताका परिवृत्तमा नारीप्रति केही खोजिपस्ने बि.पी.को सुषुप्त चेतनतत्व हो । नाटकीय घटनाको तानावाना अनि संस्कारको गाना कतै कतै गाउन पुग्दछन् – उपन्यासकार बि.पी. तर पनि उनको खोजचाहिँ निरपेक्षतामा नै देखिन्छ । ‘नरेन्द्र दाइ’ र ‘सुम्निमा’भित्र एक पुरुष दुई नारीको त्रिकोणात्मक रेखा कोरेका छन् उपन्यासकारले । फरकमा पुरुषको अहम् समर्पणमा टुङ्गिएको छ नरेन्द्र दाइमा तर ‘मोदीआइन’ भने बेग्लै बनौटको रहेको छ । जेल जीवनको तीन दिन (२०२० वि.सं. माघ १५, १६ र १७ मा लेखिएर २०३६ सालमा प्रकाशित ‘मोदिआइन’ को सन्निकटमा हिटलर यहुदी समानान्तरमा पर्न आउँदछ । आस्तिकत्वको पारिवारिक परिवेश विषयवस्तुलाई उजिल्याइएको छ ।)

बि.पी.का उपन्यासहरूमध्ये ‘सुम्निमा’ नेपाली साहित्यका थोरै चर्चित कृतिमध्ये एक बनेर रहेको छ । यस उपन्यासबारेमा धेरैमा धेरैले लेखिसकेका र लेखिँदै छन् । ‘संस्कृत विरोधी स्वच्छन्द छाडावादको रति रागमा लिप्त ….’ आदि इत्यादि आरोप प्रत्यारोपहरूपनि यसले खेपेको छ तर साँच्चै नै भन्ने हो भने मनोविश्लेषणको जड पहिल्याइ नै उनको रहेको छ । अरू त सुम्निमाभित्र बुद्ध दर्शनका रश्मिहरू छरिएका भेटिन्छन् । सम्यक् आचरणलाई विवेचन गरिएको देखिन्छ । यी कुराहरूको पुष्टिका लागि ‘सुम्निमा’का कथावस्तु नियाल्नुपर्ने हुन्छ । जेल जीवनकै क्रममा सिर्जित ‘सुम्निमा’ पौराणिक इतिहासको आधार क्षेत्र कौशिकी नदीको समय–प्रवाहलाई समेट्दै अघि बढेको छ । त्यस क्षेत्रमा सूर्यदत्त नाम गरेका नैष्ठिक ब्राह्मण आश्रम बनाएर बस्छन् । यसमा समाविष्ट कथाको विषयवस्तुका आधारमा यसभित्र आर्य संस्कृतिको भौतिकतत्व र अनार्यहरूका सभ्यता एवम् सांस्कृतिक स्वरूपलाई तुलनात्मक एवम् सकारात्मक, नकारात्मक स्थितिलाई आफ्नै पारामा आङ्कलन गरिएको छ । आर्यहरूको जीवनदृष्टिको प्रतिनिधित्व सूर्यदत्त, सोमदत्त अनि पुलोमाले गरेका छन् । यस्तै किरात र भिल्लहरूको प्रतिनिधित्व बिजुवा, सुम्निमा र अरू भिल्लहरूबाट भएका छन् । भौतिक वातावरण नै सम्पूर्ण विकास मार्गका आधार हुन् र मानवका चेतना र विकास यसै मार्गबाट चल्दछन् भन्ने कुरामा जोड दिइएको यस उपन्यास केन्द्रबिन्दु पौराणिक आधारमा देहिक कष्टलाई तपमा लिन नमिल्ने कुरा औँल्याइएको छ । सो परम्परा आङ्कलन गर्दै प्रस्तुतिले उपन्यासका घटनाक्रममा प्रभावोत्पादक ऊर्जा उत्पादन गर्दछ । आस्तिकी प्रपञ्च मात्र हो भन्ने विचार ओरालिएको यस उपन्यासमा नास्तिकीको प्रपञ्च बढी चढाइएको छ । यही सन्तुलनको कमीचाहिँ रहेकै छ ।

सांस्कृतिक पूर्वाधारको कथ्य उपकथाका रूपमा समावेश गरिएको ‘सुम्निमा’को कथा विश्वामित्रको शेषपछि उपन्यास भूमि कौशिकी नदीको तिर भूमि शून्यमा अड्किन पुगेको प्रसङ्गबाट आरम्भ भएको छ । यसै पृष्ठभूमिमा कथा बढेको छ । यसरी न त त्यहाँ यज्ञ वेदीमा आगो धुवाँ निस्क्यो न त वेद ध्वनि नै गुन्जिन सक्यो । धेरैपछि यही थलोलाई रोजेर ब्राह्मण दम्पतीले आश्रम बनाए । गार्हस्थ्य जीवनलाई वानराप्रस्थ ग्रहण गरेका ती दम्पतीका एउटा छोरा पनि थियो सोमदत्त । किशोर छोरालाई कठोर अनुशासित जीवनमा हेलिएका आदिकालका ऋषिहरूका समकक्षी हुन सक्छ भन्ने विश्वासमा त्यही अनुरूपको बाटोमा लगाएका थिए छोरालाई । छोरो पनि मेधावी, कुशाग्र एवम् स्मरण शक्तिका धनी बनेरै निस्किएका थिए । यसैबाट पनि पिता सूर्यदत्त र मातामा छोराप्रतिको ठुलो भरोसा रहन पुगेको थियो । सोमदत्त पनि आँखा चिम्लेर आफ्ना आमाबाबुको आज्ञा शिरोपर गर्दै थिए ।

एक दिन गाई चराउँदै गर्दा उनको भेट एउटी बालिकासँग हुन पुग्यो । बालिका सर्वाङ्ग नग्न थिई । उनीहरूको प्रथम परिचय भेटमै स्व जातीय संस्कारको टक्कर हुन पुग्यो । त्यसपछि अर्को दिन सोमदत्त गाई चराउन जान सकेनन् । पर्खाइमा निराश बालिका ऊ बस्ने ठाउँमा पहाडी फुmल छरेर फर्किइन् । सोमदत्तलाई बाधा परेको थियो एउटा राजकुमारको आगमनबाट । राजकुमारसँगको कुराकानीमा सूर्यदत्त दम्पतीले वरिपरिका अनार्यबाट गौवध र अन्य हिंसाबाट बाधा परेको गुनासो गरेपछि राजकुमार ती भिल्ल र किरात प्रमुखहरूलाई जम्मा पारेर पूजा क्षेत्रमा हिंसा नगर्न मात्र आदेश दिइएन । त्यस क्षेत्रलाई नै वराह क्षेत्रको नामकरण गरिदिए । त्यसको प्रतिक्रियामा भिल्ल युवकका विद्रोही आवाज दन्के तर बिजुवाले युद्ध होइन शान्तिको उपायको आग्रह गरी ठाउँ सार्ने निर्णयमा पुर्‍याए । त्यसपछि गाई काटियो । भोज गरियो, सबै जाँडले लट्ठ बने ।

त्यसको भोलिपल्ट सोमदत्त र सुम्निमाको भेटमा कुरा त्यसैमा चल्दा वाद–विवादको राग साथसाथै प्रेमको बीजाङ्कुर पनि अङ्कुरित हुँदै थियो वय चढ्दै गएजस्तै । एक दिन त वासनाको चरमोत्कर्षक रूप व्यहोर्नुपर्यो सोमदत्तले तर वेगलाई निक्कै कठिनतापूर्वक रोकेर सोमदत्त त्यहाँबाट पलायन भई क्लान्त स्वरूपमा बाबुआमाको सन्मुख कठोरत्तर व्रतका लागि आज्ञा माग्न पुगे । सुम्निमाबाट आफूmलाई पखालिन यो तपस्या थियो उनको । पखालिएको भ्रम अनि जर्जर शरीर लिएर धेरै वर्षपछि ऊ आमाबाबुसमक्ष उभिँदा हम्मेसि आमाबाबु पनि उनलाई चिनेनन् । तपको तेजले उद्दीप्त वैरागित छोरोको आगमनबाट उनीहरू एकातर्फ गौरवान्वित बने भने अर्को तर्फ कुल समाप्तिको आशङ्काले ग्रसित पनि रहे । यसैले विवाहको लागि बाध्य पारी एउटी विदुषी ब्राह्मण पुत्री पुलोमा सोमदत्तको अर्धाङ्गिनी बनेर प्रवेश गरिन् । तत्ःपश्चात मातापिता स्वउद्धारार्थ हिमालयतर्फ प्रस्थान गरे । निकै निष्ठापूर्वक पुलोमा आफ्नो कर्तव्य पालन गर्दै थिइन् । दाम्पत्य जीवनको प्रवेशको प्रथम रजोदर्शनको शुद्धिमा कर्तव्यहेतुमात्र पुत्र प्राप्तिका लागि समागमको आह्वान गर्दै सोमदत्त विधिहरू निष्ठा नियमपूर्वक सञ्चालन गर्न थाल्दछ । ती विधिहरूको पालना गर्दा–गर्दै दुवै क्लान्त र शिथिल बन्न पुगे । पुत्रेष्ठीयज्ञ समाप्त भयो तर पूर्ण हुन सकेन । यसको परिणाम अर्को महिना देखा परिहाल्यो । दुवै खिन्न रहे । यो क्रम जारी नै रहन पुग्यो । सोमदत्तको चित्त आशङ्काका बादलहरूले आछन्न हुँदै गयो । एक–अर्काको अन्तर्मन एक अर्कोमा खोटको आशङ्कामा डोरिँदै जान थाले । एवम् रितले दुवैमा दुरित्व बढ्दै गएको थियो ।

पुत्र प्राप्तिको चिन्तनले उनी किरात बिजुवातर्फ आकर्षित हुन पुगे । बिजुवाकोमा जाँदा फेरि सुम्निमासँग उनको भेट हुन पुग्यो । यति बेलासम्ममा उनी छ महिनाकी छोरीका साथमा थिइन् । सुम्निमा उनको कृषित काया देखेर निरपेक्ष भावमा बूढो देखिएकोमा चिन्न नसकिएको भन्छिन् । बाबु बिजुवासँग सन्तान लक्ष्य प्राप्तिमा केही वादविवाद हुन्छ अनि मनुवा रिसाएकोले मनुवादहमा नुहाउनुपर्छ भन्दै सुम्निमालाई नै दहमा नुहाइदिने कार्यका लागि निर्देशन दिन्छ । त्यहाँ सोमदत्तलाई कोसीमा नुहाएकी त्यति बेलाकी सुम्निमा झल्झलाउन पुग्दछ । वनस्पति तेल घसेर मनुवादहमा दुवै नुहाउँदछन् । उनको शिल्प भोगेर सोमदत्त मुग्ध बन्दछ । भिल्लको रूपमा सोमदत्तलाई सिँगारिन्छ । सोमदत्तको अन्तर सुम्निमामा फेरि लोभिन थाल्दछ तर आफूलाई आहत तुल्याएर ऊ पलायन भएर आश्रमतिर दौडिन्छ । संयोगवश पुलोमाको रजोनिवृत्ति पनि त्यही दिन भएको हुन्छ । उनी आफ्नो स्वमनमा बालसखा गाउँको भिल्ल केटोलाई भित्राएर बसिरहेकी हुन्छिन् । बेर रात त्यस तरङ्गमा बहँदाबहँदै एउटा आकृति भित्र पसेर पुलोमालाई ढाक्न पुग्दछ । यस समागमको क्षण दुवै वर्तमानलाई पछारेर अतीतमा नाङ्गिन पुग्दछन् । यस क्षणको मेघले सोमदत्तको पुरूषत्व चट्याङ बनेर कड्किन्छ । दुवैका ढोङहरू यथार्थमा मानसबाट छताछुल्ल हुन पुग्छ । पुत्रेष्टि यज्ञले फल दिन्छ । पुत्र प्राप्ति हुन्छ तर त्यसको मूल्यमा मानसिक स्वरूपले आक्रान्त र रोगीको रूपमा चुकाएका हुन्छन् दुवैले । त्यसैले सोमदत्त पुत्रलाई भिल्ल मानस पुत्र मान्दछ अनि पितृमायाको सुस्कल्प भोग्दै बालक हुर्कन थाल्दछ । बिटुलो आश्रमको वातावरणमा सोमपुत्र सोम बन्न सक्दैन । सुम्निमाकी छोरीसँगको लसपस बढ्दै जान्छ । पुलोमाको मृत्यु हुन्छ, त्यसरी नै सोमदत्त पनि । अनाथ सोमपुत्र सुम्निमाकोमा पुग्दछ । पछि सुम्निमा पुत्रीलाई नै जीवनसाथी तुल्याएर रहन्छ ।

माथि भनिएझैँ उपन्यासका कतिपय बोली बचनहरू बुद्ध दर्शन अनि सम्यक् भावाधारमा प्रभावित देखिन्छ– उपन्यासभित्र । पूर्वी नेपालको कोसी नदीको चतराको यथास्थिति र परिवर्तनबीचको अन्तर समयको आङ्कलन उपन्यासले गरेको छ । कालखण्डको क्रममा सुसभ्य एवम् कुलीन भनिएका र असभ्य जङ्गली जातिमा विद्यमान रूपरेखाको लेखाजोखा, मानवीय स्वतन्त्रता र मानवीय आवश्यक तत्त्व पहिचान गर्न उपन्यास सक्षम रहेको छ । अस्मिता बोधको प्रस्तुतिमा उपन्यासले बौद्धिक धार सम्पूर्णतामा नास्तिकतासँग जोड्नमा बल लगाएको छ । वैदिक आर्य दर्शनभन्दा किरात दर्शन वस्तुवादी र जीवनसापेक्ष रहेकोमा जोड दिइएको छ । उदाहरण स्वरूप यहाँ एउटा वाक्य प्रसङ्ग– “उनीहरू हावाका प्राणी हुन्, हावामा धाइरहन खोज्ने । उनीहरूलाई यो जीवनको पूर्णताले सन्तोष हुँदैन । त्यसको शून्यताले उनीहरू आकर्षित हुन्छन् । त्यसो हुनाले उनीहरू शून्यतालाई खोज्दै नानावली तपस्या गरिहिँड्छन् । भोग विलास र आफ्नो शरीरसम्मलाई त्याग्न उनीहरू बेर मान्दैनन् … हामी किराँती माटोका प्राणी हौँ; माटोसँग हाम्रो प्रेम छ । जीवनमा रमाइलो र त्यसलाई भोग गर्नमा नै हामी निमग्न रहन्छौ ….. ।” (पृष्ठ ९३)

“हाम्रो शरीर यन्त्र होइन, माध्यम होइन, साधन पनि होइन । त्यो आफैँ साध्य हो, लक्ष्य हो । त्यसको हेला गर्न सक्दैनौ तिमी । मानिसको रसभोग भावना र सुखको इच्छाबाट शरीर शून्य भएपछि त्यो ज्यान नभएको अररो हतियार मात्र होइन । सन्तान सम्भोगको परिणाम र प्रमाण हो …” (पृष्ठ ४६) ।

अझ त ब्राह्मण तिम्रो मनुवा रिसाएको छ किनभने तिमीले त्यसलाई तपस्याद्वारा मार्न खोज्यौ … (पृष्ठ ४६)
यी दुवै वाक्य पहिलो सुम्निमा र अर्को बिजुवाको कथनका रूपमा रहेका छन् ।

…. ईश्वर के हो ? के त्यो हाम्रो मानव सम्भावना वा भनौँ हाम्रो क्षमताको कल्पित रूपमात्र होइन र ? हाम्रो सम्भाव्यता र हाम्रो विकासशीलताको एउटा रूपमात्र होइन र ईश्वर ? … (पृष्ठ ८१)

यहाँ यो वाक्य पुलोमाद्वारा व्यक्ताइएको छ । यस्ता विषयगत र आशययुक्त कुरा ठाउँठाउँमा रहेका छन् जसबाट उपन्यासकारले भौतिकवाद लगभग हदैसम्मको अङ्गीकार गरेको देखिन्छ । आफ्नो भौतिकवादी स्वरूपको निर्लिप्तताबारे आफैँले ‘हिटलर र यहुदी’ उपन्यासमा भनेका छन् “… यद्यपि मलाई भूतप्रेत, आत्मा, देवीदेवता, भगवान्, ईश्वरजस्ता कुनै कुरामा पनि विश्वास छैन तर संस्कारगत भयबाट म मुक्त हुन सकेको छैन ।” यसैको परिणामस्वरूप उनका उपन्यासमा पनि परिलक्षित छन् । तिनले सम्पूर्ण रूपमा निर्लिप्तिमा उपन्यासकारलाई गाँज्न सकेका छैनन् । उनको भौतिकवादिताको यही छिद्रबाट मनुवा दहको नुहाइको परिकल्पना सुटुक्क निस्किन पुगेको होइन त ? अनि नामर्द भइसकेका सोमदत्तको पुरूषत्व जगाएर पुत्रलाभ समेतको क्रियाकलापमा उद्यत तुल्याएको पनि । कुनै पनि सर्जकको सिर्जनामा उसको चेतित, अचेतित आस्था एवम् विचारको कुनै न कुनै रूपमा छाप पर्दछ नै, त्यो प्रभावकै परिदृश्य यो पनि होइन भन्न सकिन्न ।

अध्यात्मवाद र भौतिकवादमा वैचारिक द्वन्द्व लामा लामा बहस अनि त्यसको निक्र्यौल विहीनताको परिणाममा अन्ततः सम्झौता नै हुने गर्दछ, भइआएको छ । त्यही परिणतिको स्वरूप हो ‘सुम्निमा’ पनि । अध्यात्मलाई अन्धरागको प्रतीक तुल्याएर ठड्याइएको सोमदत्त स्वरूपमा उपन्यास गुजिल्ट्याइएको छ भने भौतिकीको प्रतीक सुम्निमालाई हुत्त्याएर पनि लड्नबाट बचाएर ठिङ्ग उभ्याइएको छ । सर्जकको मानसिक ध्रुव उजिल्याएको छ तर पनि बि.पी. को लेखन शक्तिमा त्यो क्षमता, त्यो चयन नै यस्तो विशेषता हो (असामान्य र अद्भुत चरित्र तथा घटनाको औपन्यासीकरणको कलापूर्ण ढङ्गबाट ओराल्ने क्षमता अनि शिल्पगत वैशिष्ठ्यता । यही वैशिष्यठ्ता सरल र सुबोध ढङ्गबाट, प्रस्तुतिबाट उनका अन्य उपन्यासभन्दा आकर्षणका कारण रह्यो । विषयगत छनौटमा यस्तै यस्तै छनौट त मदनमणि दीक्षितबाट पनि भएका छन् तर बि.पी. को सुबोधता सफलता सहितको प्रस्तुतिले दीक्षितभन्दा विशिष्ट देखिन्छन् ।

माथि भनिएझैँ बि.पी. स्वयंको प्रवृत्ति झुकाव भौतिकीमा लुटपुटिएर पनि संस्कारगत आवृत्तिमा अध्यात्म पोतिएको पाइन्छ । यसैले उनका अरू अरू उपन्यासझैँ ‘सुम्निमा’ मा पनि बाजेदेखि नातिसम्म बज्यैदेखि नातिनासम्म भाग्यपथमा डो¥याएको पाइन्छ । कसैलाई महाभारतका पात्रझैँ वैराग्यको चरमोत्कर्षणमा पारेर हिमालतर्फ अघि पाइला बढाउन लगाइएको छ भने सोमदत्तलाई अध्यात्मको नशामा धुत पारेर भौतिक शून्यान्तरमा धकेलेर क्षयग्रस्त पारेर अतृप्तताका साथ मृत्युवरण गर्न लगाइएको छ । मात्र कालखण्डमा सुम्निमाको भौतिकी नेत्रले पुलोमा र सोमदत्तको मृत्यु, आफ्नो पुत्री र सोमदत्ताका पुत्रको प्रेमाङ्कुरको पल्लवित स्वरूप हेर्न दिइरहेको हुन्छ । यस्तै भाग्यवादका छाप उनका अरू उपन्यास ‘तीन घुम्ती’ की इन्द्रमाया, ‘नरेन्द्र दाइ’का नरेन्द्र, मुनरिया र गौरी आदि त्यही सेरो फेरोमा ल्याइपुर्‍याउँछन् बि.पी. ।

जुन दिन पुत्र प्राप्तिको असफलतामा आक्रान्त सोमदत्त कुनै अदृश्य तत्त्वले बाधा पु¥याइएको अनुभूति गर्दछ …. र ऊ सोच्दछ “आर्यहरूका समस्त देवीदेवता र उनीहरूका शास्त्रमा उल्लेखित कर्मकाण्ड, वैदिक ग्रन्थमा निर्देशित तपयज्ञादि …. विधिवत् सम्पन्न भएर पनि किन कार्य सिद्धि भएन… धैर्य नछोडेर पुत्रेष्टि अनुष्ठान पुनः पुनः गरिरहनुबाहेक अरू गर्नुपर्ने कुरा कुनै शेष छैन (तर त्यो अनुष्ठानको सम्झनासम्मले पनि उसको मन वितृष्णाले भरिन्थ्यो । यो वितृष्णाबाट मुक्ति पाइन्छ कि भन्ने क्षीण आशा गर्दै उसले किरातहरूको देवतालाई पनि सन्तुष्ट पारेर एक चोटि हेर्न उचित सम्झ्यो…. अनि मात्र किरातदेवको तुष्टिको इच्छा उसमा जाग्रत् भयो ।” निरन्तरको असफलताले त्यान्द्रो समाउन अनन्त सोमदत्त लाग्नु पनि भाग्यवादकै त्यान्द्रो हो त ? अन्ततः यही भाग्यवादको भेउमा कमसेकम उसले छेउ भेट्टाउन पुग्यो । बिजुवाको गणितमा उसले बिजुवा दहमा मधुपान गरेर मालिस र स्नानबाट मनुवा रिझिए अर्थात् दूध र महको देहशक्ति स्फुरणमाथि झन् जीर्ण शरीरमा धूपतेलको मालिस, त्यसमाथि सुम्निमाको नग्न शरीरको स्पर्शले पाएको उष्ण शान्तिको अनुभूति । त्यसमाथि नुहाउँदा, कत्ला जमेको मल्दामाको अनुभूतिमा प्राप्त सुखद अनुभूति सर्वथा नवीन थियो । कसैको चर्यारत स्पर्श पनि यस्तो कोमल, सुखदायी र तृप्तिकर हुँदाको पहिलो चेतन जागृत हुन पुगेको थियो । यसैको सुखद अनुभूतिप्राप्तिको शिक्षणप्राप्तिको कारणको जिज्ञासामा सुम्निमाको उत्तर लज्जालु पाराको मौन थिएन । सुलभताको लज्जा वा नारीको कुनै पनि लक्षण थिएन, उनी बेफ्वाक भन्छिन् “… यस्ता साना–साना कुरा पनि कसैले सिकाउनुपर्छ, तेल लाउनु, नुहाइदिनु, माया गर्नु ! यी सब कुरा त जीवनले त्यसै दिन्छ । साधारण किसिमले बाँच्दै जाँदा आफैँ सिकिने कुरा हुन् यी सब त । लोग्ने मानिस र स्वास्नीमानिसबिच माया गर्ने कुरा पनि कसैले सिकाइरहनुपर्दछ र ? जीवनले आफैँ त्यसै नदिएका कुराहरूलाई पो त मिहिनेतसाथ सिक्नु पर्छ । हेर तिमी बाहुनहरूले कति कुरा सिकेका छौ; मिहिनेत गरेर, कति कुरा जानेका छौँ, कस्ता–कस्ता कत्रा–कत्रा पोस्तक पढ्छौँ, हेर्छौ र कस्ता–कस्ता नबुझिने कुरा गर्छौ …. ।

यहाँ सैद्धान्तिक ज्ञानलाई पछार्दिएका छन् उपन्यासकारले अनि वेदलाई बोध गराइ दिएका छन् । ढोल, सुद्र, नारी ….. ताडनको अधिकारीको दाबीकारलाई तात्तातो तावा मुखभरि पोतिदिएका छन् । अरूमा अरूभन्दा भौतिकीका प्रतीक ‘सुम्निमा’ आध्यात्मिकता छन्दमय बनाइएका छन् उपन्यासकारबाट । भौतिकवादको द्वन्द्व मानसिक रूपमा संस्कारगत स्वरूपमा उत्रिएका छन् बि.पी. यहाँनेर । वास्तवमा भन्ने नै हो भने उपन्यासको उत्तेजन पूर्व क्लाइमेक्स यही तेस्रो खण्डमा पूर्णाहुति भएको मान्न सकिन्छ । यहीँबाट सोमदत्तका तृप्त संस्कार लक्ष्यको आपूर्ति हुन्छ अनि प्राप्ति पछिको अतृप्तिका पाटो पत्र–पत्र प्रतीकात्मक रूपमा उघ्रिँदै जान्छ । सुम्निमाका अन्तर खुल्दछ । उनी भन्छिन् “मलाई तिमीले पन्छाइदिएपछि धेरै वर्ष सम्म दुःख मानेर मैले जीवन बिताएँ । लाग्थ्यो, केहीमा पनि स्वाद छैन; खल्लो–खल्लो । पछि आमा–बाबुको ढिपी टार्न सकिनँ । सोम सोध्न पुग्छन्– “तिमी सुखी छ्यौ ? त्यसको प्रत्युत्तरमा उनी भन्छिन् – घाउ लागेको रुख पनि त हुर्किन्छ नि, यदि त्यसमा बाँच्नलाई चाहिने रस बाँकी छ भने र सहज स्वभावमा त्यसले हुर्किन पायो भने । फेरि, मेरो दुल्हा तिमीजस्तै छ ऊसँग रात बिताउँदा तिमी सँगै हुँजस्तो लाग्छ । यस्तै सपनालाई अँगाल्दै त हिँड्नुपर्छ नि बाँच्नु छ भने …. ।” हो, उपन्यासमा बाँचेकी छे यस्तै यस्तै पुलोमा पनि बालसखा भिल्ल युवकका साथ तर पुलोमा अन्तरमुखी छिन् । सुम्निमाझैँ प्राकृत अनि व्यवहारिक छैनन् संस्कारले दिएको छ उनलाई समानान्तर स्वरूपमा सोमकै हाराहारीमा । यसैले ऊ अन्तरमनबाट मात्र कल्पिन सकिन्छन् । उनका कल्पाइमध्ये मुख्य मूल यसरी फुट्दछ । मूल फुटाइको परिदृश्यलाई यही रोकेर मूल फुटाइका कारकतत्व पुलोमा भित्रको भोग्य आवहवाले तप्त अन्तर भूकम्पको तापको फिलिङ्गो शनै–शनै अन्तर–अन्तर शुष्कमा छोइँदै ज्वाला अनि ज्वालाबाट लावाका रूपमा कुन प्रकारले हुँडरी नै रह्यो त्यो पनि अवलोकन गर्नु पर्ने हुन्छ । आरम्भ त यो धराझैँ उनी पनि थिइन् नै पानी पानी नै ।

दग्धधरतीको रूपान्तर अवस्थामा पानी, पानी पछिको जिन्दगानी अनि पछि मात्र भोगाइको हावा–पानी । (हो त्यै वातावरणको प्रभावित क्षेत्र मान्छेको पोल्टामा परेको अध्ययन पुराण, रामायण–महाभारतका क्रम मिलानको अध्ययनको सम्पूर्णतामा त न भनूँ खेस्राको कोरकारको रूपान्तर पनि हो जस्तो लाग्दछ – बि.पी.को सुम्निमा ।) अर्थात् एकोहोरो अव्यवहारिक अध्यात्म प्रलाप अनि जे भनियो त्यसैमा जीवनरूपी खेत कोरी हिँड्ने हलियाको स्वरूपमा सोम । सोमको यही स्वरूपले स्वधारा स्वाहा गर्न पुगेकी छन् पुलोमा पनि । जब सोम आफूmसँग भएको सम्पूर्ण दाह गरिसक्छन् तर पनि प्राप्यतामा खरानी मात्र धस्सिन पुग्दछन् । त पानीमा बगेका कमिलाका रूपमा छटपटाउन थाल्दछन् । यो छटपटाइमा उनी छेस्कोको रूपमा अन्तिम आधारको टेकी खोज्न थाल्दछन् । यै बेला पुलामो त्रस्त र अस्तव्यस्त हुन्छिन् किनकि प्राकृत–प्रदत्त ऋतु अभिशाप दोहरिन पुगेको अवधि हुन्छ । प्रताडना – यन्त्रणाका खण्ड दोहोरिएर कुण्ठित अवहेलित चस्काइ शब्दहरूले फेरि छिया–छिया पर्ने भयले उनी आफ्नो बालखण्डका आनन्दतर्फ निहुरिन पुगेकी हुन्छिन् । पाप धर्मका पातो पातो पन्छाएर भए पनि । उनी गुन्न पुग्छिन् ‘साचीपति इन्द्र मुनिको भेष धारेर प्रोषित भर्तृकाका साथ रमण गरे । असम्भव आख्यान हो यो पुराणको । मोहाछन्न नै नभईकन कुनै नारीद्वारा यस्तो भ्रम हुनै सक्दैन । कविले पछि प्रसङ्गमा अहिल्याले इन्द्रलाई चिनेको देखाएको छ, यदि त्यही हो भने इन्द्रले छद्मभेष किन धारणा गर्नुपर्‍यो ।

अन्तर्द्वन्द्व समनका लागि महाभारत थन्क्याएर रामायण पढ्न थालेकी पुलोमा बाध्य हुन्छिन् । कैयौँपल्ट पारायण गर्दा नउठेका सोधाइहरू किन सोधिँदै छ मस्तिष्क अनि मन किन फर्किँदै छ अतीत अध्यायमा । उनी एउटा पन्क्षीको आवाजमा त्यो बालपनको प्रेयसीका आह्वान सुन्न पुग्दछे पुलोमा ! ए पुलोमा । तारतम्य समयको भाग्यवादको गोरेटोमा चौडिन्छ, सन्जोगका आकाश छ्याङ्ग खुल्दछ । उता सुम्निमा मनुवादहमा सोमदत्तलाई भिल्लभेषमा सजाएर एकातर्फ तृप्ति, अर्कोतर्फ त्यागको नमुना देखाइरहेकी हुन्छिन् भने पूर्ण आध्यात्मिक स्वरूपमा आफूलाई ढालेर निर्लिप्त भावमा आफूलाई ढाल्दाढाल्दै पनि सम्पूर्णलाई मिचेर “बाले त भनेको होइन, तर एउटा सबभन्दा पछिल्लो विधि आफ्नै मनले गर्छु ।” भन्दै हठात् सोमदत्तलाई आफूसँग टाँसेर बलियो आलिङ्ग्नमा बेर्दै उनको मुखमा चुम्बन गर्न पुग्छिन् र त्यसभन्दा अघि बढ्नबाट रोक्न आफू पलायन भई दिन्छिन् । सोम त्यही तापमा त्यही भेष आफ्नो कुटीमा मानसिक रूपले प्रतीक्षारत किरातको सामिप्यता प्राप्त गर्दछ । यस्तै गरी सोम सुम्निमालाई मानसिक स्वरूपमा भोग गर्दछ ।

तृप्ति दुवैको समान मानसिक प्राप्ति छ तर पुरुष इगो प्रलयमा उद्यत हुन्छ । पुत्र प्राप्तिमा पनि ऊ भट्किन्छ विनासतर्फ । उसको आध्यात्मिकता उसैले बलात्कार गर्न पुग्छ अनि अस्तित्व आफूm र पुलोमाको दाउमा थापेर दुवै विलीन हुन्छ । त्यसपछि नयाँ युगको सूत्रपात हुन्छ । सुम्निमा पुत्री (जेठी) सोमपुत्र (कान्छो), पुत्र यावा (प्रेमी–प्रेमिका) मात्र होइन सफल प्रेमी बनेर युग सूत्रधार गर्न पुग्छन् । त्यसको द्रष्टा मात्र सुम्निमा मात्र रहेकी हुन्छिन् ।

यी सम्पूर्ण कथ्यबाट ‘सुम्निमा’ उपन्यास विशुद्ध मानवीय चरित्रको सम्पूर्ण उतारको रूपमा लिन सकिन्छ । मानिसको स्वत्वको इगोको प्रारूप यसमा छर्लङ्गिएका छन् । मानवीय संस्कार र मानसिक विभेदको इगोहरू प्रतीकात्मक एवम् व्यङ्ग्यात्मक स्वरूपमा छिन्न–भिन्न पारिएको इच्छित स्वरूपलाई गहिराईका साथ मनोविश्लेषणात्मक स्वरूपमा ढालिएका छन् । मानव समाजको विकास प्रवाह, मानव चेतन धार भौतिक आवश्यकता अनुसार प्रवाहित हुने कुरा हो र यिनैले सास्वताको धारलाई समय खण्डमा काल क्रमले फोड्दै मोडर्न आवश्यकता अनुसार आफ्नै स्वधार खोज्दै बढ्दछ भन्ने सन्देश पनि उपन्यासमा समाहित छ । विषयगत पक्षमा सांस्कृतिक विषयवस्तुमा देखिए पनि सुम्निमा भित्र समतामूलक समाजको परिकल्पनाको तानाबाना प्रस्फुटन हुन पुगेको छ ।

सूर्यदत्त परम्परा खण्डित हुन पुग्नु एउटा प्रतीकात्मक विम्ब हो । छोरो सोमदत्त खण्डित चरणको पहिलो स्वरूप हो भने नाति विलीनताबाट उत्पन्न संरचना हो । कोरापनबाट कुनै कुराको निर्माण वा उद्भव सम्भव छैन । मिश्रण प्राकृतिक हो अनि यथार्थ । यही यथार्थ बोधको पहिचान ‘सुम्निमा’ हो ।

बि.पी.का औपन्यासिक तानाबानाको चक्रव्यूह संयोग, वियोग, नास्तिकता, आस्तिकता गौण रहेको हुन्छ जब लक्ष्य भेदन मानवीय आवश्यकता प्रकृति वा प्रवृत्तिमा तल्लीन रहन पुग्दछ । यो उनको अध्ययनशीलता र मन्थन क्षमताको सूक्ष्म प्रवाह नै हो कि आफ्नो लेखन प्रवृत्तिमा यथार्थ धरातलीय विम्बमा खरो उत्रने गर्दछन् । यौन विषयवस्तुलाई सुपाच्य तुल्याउने गर्दछन् । भन्दिए हुन्छ राजनैतिक जीवनको शुष्कमय गतिविधिको भोगाइको अर्को पाटोमा ऊर्जा एवम् सरसताकै निम्ति उनले आफ्नो लेखन माध्यम बनाएका हुन् र यसमा उनी अभिष्ट प्राप्तिमा सफल भएका छन् । आङ्कलनको कुरो उठाउने नै हो भने ‘तीन घुम्ती’का घुम्तीहरूभन्दा अहँ र अवचेतनको गम्भीर द्वन्द्व ‘सुम्निमा’मा प्रचुर रहेको छ । समाजको भावी स्वरूपको दिशानिर्देश पनि यसले गरेकै छ । जैविकताका जीवन्त पक्षलाई सजीवताका साथ नवीनतम मोड दिई ‘सुम्निमा’ पदार्पण गराइएको छ ।

प्रायशः बेग्लै प्रकारको आफ्नै विशिष्ट खाले छनौट अङ्गालेर लेख्ने बि.पी.को सुम्निमा अरू थप छुट्टै विशेषताः राख्दछ । आफ्नो मनोविश्लेषणात्मक धारको बगाइमा यथार्थका प्रतीकात्मक प्रयोगको कोणबाट पनि सुम्निमा उच्चस्तरको बन्न पुगेको छ । ‘तीन घुम्ती’को तुलनामा चेतन र अचेतनका साङ्गोपाङ्गो अनि तिनका अग्रगामीपनामा देखा परेका सकारात्मक र नकारात्मक, नैतिक, अनैतिक पक्षहरू इन्द्रिय दमन अनि भोगको अनुभूति सचेत समर्पित भोगका विशद व्याख्या ‘सुम्निमा’मा हुन पुगेका छन् । यस उपन्यासको एउटा अर्को विशेषता के हो भने मानव शास्त्रीय परम्परालाई छर्लङ्ग्याउँदै यसले हाम्रो समाजमा अन्तर्जातीय समिश्रणको विकास हुँदै समाजले गति लिन थालेको पनि उजिलिएको छ । यी सब कारणबाट पनि सुम्निमा उपन्यासले बि.पी.को उचाइ बढाएको छ ।