पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । गएको साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार सात सय तथा चाँदीको मूल्य प्रतितोला सात सय ७५ रुपैयाँ कायम भएको थियो ।
यस्तै एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४ सय ३५ रुपैयाँ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा सोमबार पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ ।
महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० रुपैयाँ निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ ।