अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 21:00

चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटाइबाट युवकको मृत्यु, घटनाबारे छानबिन सुरु

बिआरटीनेपाल २०७७ साउन ९ गते ०:२८ मा प्रकाशित

नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक जना स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको बताएको छ । शुक्रबार बिहान नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कान्तिपुरमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको र यस विषयमा आन्तरिक छानबिन सुरु गरिसकेको उल्लेख गरेको हो ।

‘यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी गराउँदछौं । नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको थियो । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू