अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 00:47

राजनीति छाडेको दलाई लामाको घोषणा, भन्छन्, चीनले घोषणा गरेको दलाई लामालाई तिब्बतीले मान्दैन

बिआरटीनेपाल २०७७ साउन ६ गते ७:२४ मा प्रकाशित

तिब्बतका नेता एवं धार्मिक गुरु दलाई लामाले आफूले राजनीति छाडेको घोषणा गर्नुभएको छ ।चीनद्वारा अपदस्थ गरिएपछि ६० वर्षदेखि भारतीय भूमिमा शरण लिएर बसिरहनु भएका बुद्ध धर्मका गुरु दलाई लामाले राजनीति छाडेको घोषणा गर्नुभएको हो ।तिब्बतियन बुद्ध धर्मावलम्बीहरुका पवित्र धार्मिक गुरु दलाई लामाले आफूपछि कस्लाई दलाई लामा बनाउने भन्ने निर्णय गर्ने सर्वाधिकार तिब्बतीहरुमा मात्र रहेको प्रष्ट गर्नुभएको छ ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले घोषणा गरेको व्यक्तिलाई तिब्बतीहरुले कुनै हालतमा दलाईका रुपमा नस्वीकार्ने पनि स्पष्ट गर्नुभयो । तिब्बतमा रहेका दलाई लामासम्बन्धि अनेकन संस्थालाई राख्ने नराख्ने भन्ने निर्णय पनि तिब्बतीले मात्र गर्न सक्ने प्रष्ट सन्देश उहाँले दिनुभयो ।६० लाख तिब्बतीको विश्वास आफूमा रहेको दाबी गर्दै उहाँले ती ६० लाख तिब्बतीको प्रतिनिधित्व दलाई लामाबाहेक अरु कसैले गर्न नसक्ने र त्यो आफूले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

तुलनात्मक रुपमा केही क्षेत्रमा भने तिब्बतियन बुद्धिज्म र तिब्बतीहरुप्रति चिनियाँ शासकको रवैया उदार देखिएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।चिनियाँहरुमा दलाई लामालाई हेर्ने दृष्टिकोण गहिरिँदै गएकाले एक दुई वर्षमा केही न केही परिवर्तन हुनसक्ने आशा पनि उहाँले गर्नुभएको छ ।आफूले राजनीति छाडिसकेकाले चिनियाँ बुद्धिज्मका लागि सेवा गर्ने इच्छा व्यक्त गर्दै उहाँले त्यही माध्यमबाट चिनियाँ नैतिक मूल्यमा परिवर्तन गराउने चाहना रहेको उल्लेख गर्नुभयो ।

६ दशकदेखि आफ्नो मातृभूमि फर्कने उत्कट इच्छा बोकेर बस्नु भएका लामाको यस भनाइले उहाँ कतै न कतै बइजिङका शासकसँग एउटा बलियो र राम्रो समझदारी बनोस् भन्ने पक्षमा हुनुहुन्छ कि भन्ने पनि देखिन्छ ।अर्को प्रसंगमा उहाँले पृथ्वी हामी सबैको साझा घर हो भन्दै ७ अर्ब मानिस एक भएर यस ग्रहलाई जोगाउनुपर्ने पनि बताउनुभयो ।

वैज्ञानिक र वातावरणविद्हरुले अबको केही दशकमा जलवायु परिवर्तनका कारण पानीका सबै स्रोत सुक्ने चेतावनी दिएकाले पर्यावरण जोगाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफू तिब्बतको राजनीतिबाट म रिटायर भइसकेँ पनि त्यहाँको पर्यावरण अनि संस्कृतिप्रति सधैँ समर्पित रहिरहने बाचा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय