रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ। लिग अन्तर्गत बिहीबार राति भएको खेलमा भिल्लारियललाई पराजित गरी जिनेदिन जिदानको टिम रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २–१ ले पराजित गरेको हो ।
रियलको जितमा दुवै गोल करिम बेन्जिमाले गरे र उनले २९ औँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा उनले गोल गरेर अग्रता दोब्बर पारे । भिल्लारियलका लागि ८३ औँ मिनेटमा इबोराले एक गोल फर्काए । जिदानको टिम रियल मड्रिडलाई लिगका अन्तिम दुई खेलमा एकमा जित वा कम्तिमा दुई अंक चाहिएको थियो उपाधि जित्नका लागि । जितसँगै रियल मड्रिडले तीन वर्षपछि पुनः लिगको उपाधि जितेको छ ।
रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् । जिदानको टिमले कोरोना भाइरसको महामारीपछि जुनमा फुटबल पुनः सुरु भयताका सबै १० खेलमा जित निकालेको छ ।
अब उसले लिगको अन्तिम खेल खेल्न बाँकी छ तर सो खेलमा पराजित नै भए पनि दोस्रो स्थानको बार्सिलोनाले उछिन्नँ सक्दैन । बन्द रंगशालामा भएको खेलमा रियल मड्रिडले ३४ औँ पटक ला लिगाको उपाधि जितेको हो। लिग अन्तर्गत बिहीबार राति नै भएको खेलमा बार्सिलोना भने ओसासुनासँग २–१ ले पराजित भयो । घरेलु मैदानमै भएको खेलमा बार्सिलोना पराजित भएको हो ।
बार्सिलोनाका लागि लियोनल मेस्सीले ६२ औँ मिनेटमा गोल गरे पनि १० खेलाडीमा सीमित भएको ओसासुनासँगको हारबाट जोगाउन सकेनन् । ओसासुनाका लागि १५ औँ मिनेटमा अर्नाइज र इन्जुरी समयको चौथो मिनेटमा टोरेसले गोल गरे । ७७ औँ मिनेटमा गालेगो पुइग्सेच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ओसासुना १० खेलाडीमा सीमित भएको थियो ।
लिगको एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियल मड्रिडको ८६ तथा दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ ।