अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 10:41

चीनसँगको सिमांकन पनि टुंग्याउनु पर्छः सीमाविद बुद्धिनारायण श्रेष्ठ

बिआरटीनेपाल २०७७ असार ७ गते ८:०६ मा प्रकाशित

सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालले जारी गरेको अद्यावधिक नक्शा अनुसार उत्तरी छिमेकी चीनसँगको सिमाकङ्न पनि टुंग्याउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा श्रेष्ठले लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएकाले लिम्पियाधुरासम्मको सिमानाको टुंगो लगाउनुर्ने बताउनुभयो ।

श्रेष्ठले चीनसँगको सिमांकनसँगै त्रिदेशीय बिन्दु खडा गर्न चीनलाई भन्नुपर्ने उल्लेख गर्दै त्रिदेशीय बिन्दु निर्धारणका लागि भारतलाई पनि मनाउनुपर्ने उल्लेख गर्नुभयो । चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशीय बिन्दु कायम भएपनि नेपालको दुई वटा बिन्दु समेत कायम नभएको उहाको भनाई छ ।

सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्शा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला नगर्न सुझाव दिँदै सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्शा प्रयोग भएका लेटरप्याडहरु परिवर्तन गर्न पनि सुझाव दिनुभयो । केन्द्रीय तथ्याङ्क विभागले तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्नुपर्ने भन्दै श्रेष्ठले गुगललाई नेपालको नक्शाका विषयमा जानकारी दिन पनि सुझाव दिनुभएको छ ।

सीमा समस्या वार्ताबाट मात्रै समाधान गर्न आग्रह गर्दै उहाँले सडकको उफ्राईले बिच्काउने काम मात्र हुने बताउनुभयो । नेपाली भूमिबाट भारतीय सेना फिर्ताको वातावरण बनाउने जिम्मा नेपालकै भएको श्रेष्ठको भनाइ थियो । वार्तामा बस्न भारत अनिच्छुक भएमा मात्र अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गर्नुपर्ने उल्लेख गर्दे उहाँले भारतसँग प्रमाण कमजोर रहेकाले वार्तामा बस्न आनाकानी गरिरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू