नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। यो संगै कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ हजार ६ सय ६० पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २ सय ८८ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । पछिल्लो २४ घन्टामा ८ महिलासहित १ सय ८७ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ८७ महिलासहित ८ सय ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल देशभर ३ हजार ७ सय ३८ जना ‘आइसोलेसन’मा रहेका छन् । १ लाख ६२ हजार १३ जना ‘क्वारेन्टिन’मा रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७५ हजार १ सय ४३ नमुना परीक्षण भएका भने पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० परीक्षणहरु गरिएका छन् ।
