सरकारले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट चल्न दिने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले औपचारिक जानकारी गराउनुभयो । उहाँका अनुसार सामाजिक दूरी र आवागमनमा सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय लिइएको हो ।
सरकारका प्रवक्ता खतिवडाले बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताउनुभयो । उहाँले आर्थिक वर्ष अन्त्यको समय भएकोले धेरै काम गर्नु पर्ने भएकोले सहज गराउन परेको उल्लेख गर्नुभयो ।
यसका साथै सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन लागु गरेको सरकारले कोरोना भाइरसका संक्रमित कम भएको ठाउँमा क्रमशः लकडाउन खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।
