कविता
छानामा सिउरेर राखेको
तिमीसँगै खिचेको पुरानो तस्बिर
सम्झनाको हुरीले झार्यो
कुरीतिको धुलोले थोत्रिएको
थोत्रो न थोत्रो मनस्थितिजस्तै थोत्रो
समाजसँग हारेर भागेको
बस्न नसकेको नयाँ संस्कारजस्तै
पुरानो तस्बिर
सम्झनाको हुरीले झार्यो
मैले त्यसलाई घोरिएर हेरेँ-
अलिकति जातीयताको धुलो
अलिकति सम्पन्नताको मैलो
अनि
अलिकति परिवारको आडम्बरी कालो रङ मिसिएको
प्रेमको फ्रेममा सजिन नपाएको
तिम्रो र मेरो तस्बिर
मेरो अगाडि झर्यो
त्यस बेला विरोध नगरेका होइनौ, हामीले
प्रतिकारको नारा नलगाएका होइनौ , हामीले
तर
के भयो – के भयो
के पुगेन – के पुगेन
मिलनको पुललाई
प्रेमको नदीमाथि प्रतिस्थापित गर्न सकेनौ
वारि र पारिको साथी भयौ, हामी
बीचको साँध-सिमाना काट्न सकेनौ
र त आजसम्म
तस्बिरमा कैद छ हाम्रो प्रेम !
छानामा सिउरेर राखेको
तिमीसँगै खिचेको पुरानो तस्बिर
सम्झनाको हुरीले झार्यो !
अनायासै आँसुका शीत बर्सिए
तर पनि पखालिन सकेन
त्यो विडम्बनाको धुलो
स्मृतिका पाइतालाहरू चढाइएर
समयका भर्याङ्हरूमा
म फेरि पुगेँ त्यही प्रेमको भञ्याङमा ,
जहाँ हाम्रो भेट हुने गर्थ्यो –
थोत्रो चौतारो नयाँ भएछ
जीर्ण मन्दिरले रूप फेरेछ
त्यो पुरानो पाटी …
त्यो काँसबारी…
सारौँ कराउने बासघारी
सबै-सबै नचाहेरै फेरिएछन्
तर विडम्बना !
हाम्रो प्रेम अझै पुरानो फर्मामा रहेछ
जसलाई हामी वर्षौँ पहिले फेर्न चाहन्थ्यौ
नयाँ रूपरङ्गमा !!