अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 12:50

स्लोभेनियाद्वारा कोरोनामुक्त भएको घोषणा

बिआरटीनेपाल २०७७ जेठ २ गते ७:२९ मा प्रकाशित

युरोपेली मुलुक स्लोभेनियाले कोरोना भाइरस (कोभिड–१९) महामारीको आधिकारिक अन्त्य भएको घोषणा गरेको छ । पछिल्लो दुई साता दैनिक ७ जनाभन्दा कम व्यक्तिमा मात्र संक्रमण पुष्टि भएपछि स्लोभेनिया सरकारले आफ्नो मुलुक कोरोना भाइरस संक्रमणबाट मुक्त भएको घोषणा गरेको हो । योसँगै कोरोनामुक्त भएको घोषणा गर्ने स्लोभेनिया युरोपकै पहिलो राष्ट्र बनेको छ ।

२० लाख जनसंख्या भएको स्लोभेनियाको सीमा युरोपकै दोस्रो प्रभावित इटाली, अस्ट्रिया, हंगेरी र क्रोएसियासँग जोडिएको छ । गत मार्च १२ मा कोरोना महामारीको घोषणा गरेको स्लोभेनियामा हालसम्म १ हजार ४ सय ६४ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ । आधिकारिक रूपमै कोरोनामुक्त भएको घोषणा भएपछि महामारीका बेला नागरिक र कम्पनीहरुलाई दिने भनेर घोषणा गरिएको आर्थिक सहायतासम्बन्धी व्यवस्था पनि मेको अन्त्यबाट अन्त्य हुने स्लोभेनिया सरकारले जनाएको छ ।

उसले जारी गरेको विज्ञप्तिअनुसार अब युरोपेली संघबाट स्लोभेनिया आउने मानिस पनि यसअघि अप्रिल महिनाको सुरुआत्मा घोषणा गरिएबमोजिम अनिवार्य कम्तीमा ७ दिन क्वारेन्टाइनमा जान बाध्य हुने छैनन् । यद्यपि युरोपेली संघबाहिरका नागरिक भने कम्तीमा १४ दिन क्वारेन्टाइनमा जानुपर्नेछ । कार्गो ल्याउने मानिस र कूटनीतिज्ञलाई भने यो नियम बाध्यकारी बनाइएको छैन । स्लोभेनिया सरकारले कोरोना भाइरसको लक्षण देखिएका विदेशीलाई भने देश प्रवेशमै प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय