दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा पोष्ट स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । आज सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ ।
नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । अहिले २५ जनालाई अहिले बीओपीमा राखिएको र अरुलाई भोलि पठाउने सशस्त्र प्रहरीले जनाएको छ ।
विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित पोष्टमा नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्द गनुभएको छ । छाङ्रुमा भाडाको घरमा पोष्ट स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।
