अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 00:00

ह्वाइट हाउसमा गरियो हिन्दु पुजारीद्धारा संस्कृतमा शान्तिपाठ (भिडियो)

बिआरटीनेपाल २०७७ वैशाख २७ गते २१:५५ मा प्रकाशित

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा संस्कृतमा शान्तिपाठ गरिएको छ । कोभिड–१९ महामारी फैलिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर शान्ति, सुरक्षा र भलाईका लागि शान्ति पाठ गराउनुभएको हो । नेशनल डे अफ प्रेयर सर्भिसका अवसरमा पुजारी हरिश ब्रम्हभट्टले शान्ति पाठ गरेका हुन् । ब्रम्हभट्ट न्यु जर्सींस्थित स्वामी नारायण मन्दिरका पुजारी हुन् ।

‘कोभिड १९ को यो समस्याग्रस्त घडी, सामाजिक दूरी र लकडाउनको अवस्थामा मानिसले अशान्त वा त्रास महसुस गर्नु अस्वभाविक होइन । शान्ति पाठ धन, सफलता, प्रसिद्धी वा स्वर्गका लागि गरिने प्रार्थना होइन,’ ब्रम्हभट्टले भने,‘यो शान्तिका लागि सुन्दर हिन्दू प्रार्थना हो । यो यजुर्वेदबाट आएको प्रार्थना हो ।’ उनले सुरुमा संस्कृतमा पाठ गरेपछि त्यसैलाई अंग्रेजीमा अनुवाद गरेका थिए ।

https://www.youtube.com/watch?v=4uJHAkeYhks

‘स्वर्गमा शान्ति होस् । आकाश र पृथ्वीमा शान्ति होस् । पानीमा शान्ति होस् । वनस्पति र रुखमा शान्ति होस् । ब्रम्ह र सबैमा शान्ति होस् र हामीले त्यो शान्ति महसुस गरौं । ओम शान्ति, शान्ति, शान्ति,’ ब्रम्हभट्टले पाठको क्रममा भनेका छन् । शान्ति पाठपछि ट्रम्पले ब्रम्हभट्टलाई धन्यवाद दिनुभएको छ । नेशनल डे अफ प्रेयर सर्भिसमा बोल्दै राष्ट्रपतिले कोरोनाविरुद्धको डरलाग्दो र भीषण लडाई अमेरिकाले लडिरहेको बताउनुभयो ।

‘इतिहासदेखि नै चुनौतीको घडीमा हाम्रा जनताले सधैं आस्थाको उपहार खोजेका छन्, हाम्रो विश्वासको आर्शिवाद, प्रार्थनाको शक्ति र भगवानको भित्री सुन्दरता । म सबै अमेरिकीहरुलाई अध्यात्ममा आफ्नो हृदय र आवाज जोड्न भन्छु र हामी शक्ति र उद्धारका लागि स्वर्गका हाम्रा भगवानलाई अनुरोध गर्छौ’ ट्रम्पले भन्नुभयो ।

सो अवसरमा प्रथम महिला मेलानिया ट्रम्पले कोभिड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति सहानूभूति प्रकट गर्नुभयो । न्यु जर्सीको रोब्बिन्सभिल्लीस्थित स्वाभिनारायण मन्दिरका पुजारीले ह्वाइटहाउसमा भएको प्रार्थनामा मन्त्रोच्चारण गरेको यो संभवतः पहिलोपटक हो ।
–एजेन्सी

प्रतिक्रिया