अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 23:54

२ हजार डलर पाउने नै हो ?

बिआरटीनेपाल २०७७ वैशाख २७ गते २१:४४ मा प्रकाशित

न्यु योर्क । कोरोना भाइरसको प्रकोप समाप्त नभएसम्म कम आय भएका अमेरिकीलाई मासिक २ हजार डलर दिन ३ जना सिनेट डेमोक्रेटले प्रस्ताव गरेका छन् ।

सिनेटर कमला ह्यारिस, बर्नी स्याण्डर्स र एड माक्र्लीले शुक्रवार मन्थ्ली इकोनोमिक क्राइसिस सपोर्ट एक्टमार्फत यस्तो प्रस्ताव गरेका हुन् । प्रस्ताव पारित भए वार्षिक एक लाख अमेरिकी डलरभन्दा कम आम्दानी गरेका हरेक व्यक्तिले मासिक २ हजार अमेरिकी डलर पाउने छन् । संयुक्त ट्याक्स फाइल गरेका दम्पतीले प्रति व्यक्ति मासिक २ हजार अमेरिकी डलर पाउन वार्षिक २ लाख अमेरिकी डलरभन्दा कम आम्दानी गरेको हुनु पर्नेछ ।

यो प्रस्ताव पारित भए बालबालिकाले पनि मासिक २ हजार डलर अमेरिकी डलर पाउने छन् । तर, प्रति परिवार बढीमा ३ बालबालिकालाई मात्र यस्तो रकम दिइने प्रस्ताव गरिएको छ । अर्थात्, बालबालिकाको सङ्ख्या ३ भन्दा बढी रहे पनि हरेक परिवारले अधिकतम मासिक १० हजार डलर पाउने छन् ।

वार्षिक १ लाख डलरभन्दा बढी कमाइ गरेका व्यक्ति र २ लाख डलरभन्दा बढी कमाइ गरेका दम्पतीहरूको हकमा उनीहरूले गरेको कमाइका आधारमा १० प्रतिशत रकम घटाएर दिने प्रस्ताव छ । उदाहरणका लागि १ लाख १० हजार कमाइ गरेको व्यक्तिले बढी कमाइ गरेको १० हजार डलरको १० प्रतिशत अर्थात् १ हजार डलर कम रकम पाउने छ ।

यो प्रस्ताव पारित भएमा ९० प्रतिशत भन्दा बढी अमेरिका निवासीले मासिक २ हजार डलर पाउने छन् । सोसल सेक्युरिटी वेज स्टाटिस्टिक्स अनुसार ९० दशमलव ६७ प्रतिशत अमेरिकीको वार्षिक कमाइ १ लाख डलरभन्दा कम छ ।

प्रतिक्रिया