अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 23:42

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार ८ सय पुग्यो, एकैदिन २५ सय बढीको मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख २४ गते २२:१९ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । अघिल्ला केही दिनहरुमा दैनिक नयाँ संक्रमितको संख्यामा कमी आएको भए पनि यो संख्या अझै बढी नै रहेको छ ।बुधबार मात्र अमेरिकामा कोरोनाका २५ हजार ४६९ नयाँ संक्रिमत फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ९३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९९ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युका तथ्यांकमा दैनिक उतारचढाव आइरहेको छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेको छ । सोमबार र आइतबार भने यो संख्या घटेर निकै तल आएको थियो । मंगलबार र बुधबार फेरी ह्वात्तै बढेको छ । त्यहाँ कोरोनाका कारण सोमबार १ हजार ३२४ जना र आइतबार १ हजार १५३ को मृत्यु भएको थियो । तर फेरि मंगलबार र बुधबार दैनिक मृत्युसंख्या दोब्बरले बढेको देखिएको छ ।

कुल संक्रमितमध्ये २ लाख १२ हजार ९८१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ७५ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन् जसमध्ये १५ हजार ८ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको थियो तर मंगलबार र बुधबार मृत्यु हुनेको संख्या फेरी बढेको पाइएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५२ रहेको छ ।

न्यूयोर्कमा बुधबार ३ हजार ३५१ नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख ३३ हजार ४९१ पुगेको छ । हालसम्म त्यहाँ २५ हजार ९५६ जनाले ज्यान गुमाइसकेका छन् । अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५७३ पुगेको छ । त्यहाँ एकैदिनमा बुधबार मात्र २८० को मृत्यु भएको छ भने १ हजार ३५४ नयाँ संक्रमित थपिएका छन् ।

1212014863

प्रतिक्रिया