कोरोनाको उच्च जोखिममा रहेको नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालगञ्जमा एकाएक १६ जनामा कोरोना संक्रमण देखिएपछि सोमबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । ‘मंगलबार (२३ गते) बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काले बताउनुभयो । उक्त समयमा कोहीलाई घरबाट बाहिर निस्किन दिईने छैन ।
सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्रसँगै तरकारी मण्डी अर्को निर्णय नभएसम्म बन्द गर्ने, पालिका, टोलले मान्छेलाई आवतजावत गर्न नपाउने गरी तंगारो राख्न नपाउने र त्यस्तो गर्नेलाई कारबाही गर्ने, सामाजिक सञ्जालमा धार्मिक, जातीय सद्भाव भड्काउने कुरा लेखेमा कारबाही गर्ने, कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
नेपालगञ्जको वडा नं. ८ मा मात्रै संक्रमित देखिएका छन् । १९ गते संक्रमित देखिएका व्यक्तिको सम्पर्कमा रहेकाको स्वाव परीक्षण भइरहेको छ । उनको र उनले संक्रमित बनाएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको पनि खोजी भइरहेको छ । वडा नं. ८ को जुलाहनपुरुवा टोलका सबैलाई परीक्षण गर्नुपर्ने अधिकारीहरुले बताएका छन् ।
