अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 07:14

साउदीमा ३४ नेपाली कामदारमा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ वैशाख २० गते २१:५३ मा प्रकाशित

साउदी अरबमा दुई महिलासहित ३४ नेपाली कामदारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयले जनाएको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले जानकारी दिनुभयो । महावाणिज्य दूत पौडेलले बिरामी, कम्पनीको आधिकारिक प्रतिनिधि र चिकित्सकसँग नियमित सम्पर्कमा रहेको बताउनुभयो । बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ।

अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ। ३४ मध्ये २ जना निको भइसकेको छ। १८ जना अस्पतालमा छन्। १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्वारेन्टाइनमा सारिएको पौडेलले बताए। संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत् छन्।

साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई कोरोना पोजिटिभ देखिएको छ। हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ भने १ सय ७६ जनाको मृत्यु भएको छ । ३७ सय ६५ जनालाई निको भएका छन्।

प्रतिक्रिया