कोरोना भाईरसको प्रभावले विश्वलाई अझै २ बर्ष पछ्याउने एक रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकाको सेन्टर फर इन्फेक्सिज डिजिज रिसर्च एण्ड पोलिसी सीआईडीआरएपीले निकालेको एक रिपोर्टले यस्तो ठहर गरेको हो । रिपोर्ट अनुसार कोरोना भाइरसको प्रभावले अझै दुई वर्ष विश्वका मानिसहरुलाई पछ्याउने अवस्था उल्लेख गरिएको छ ।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार सीआईडीआरएपीले यो रिपोर्ट तीन सम्भावनामाथि आधारित रहेर निकालेको हो । विश्वमा नै महामारी कायम गरेको कोरोना भाइरस नियन्त्रणका लागि सार्वजनिक गरेको रिपोर्ट अनुसार मानिसहरुको व्यवहार, यसमाथि नियन्त्रण पाउनका लागि गरिएको प्रयास र बिभिन्न देशको अवस्थामाथि अध्ययन गरिएको छ ।
कोरोना भाइरसले अहिले कायम गरेको प्रभावमा आउने उत्तारचढावले यसको नियन्त्रणका लागि सन् २०२१ सम्म कुर्नु पर्ने रिपोर्टको पहिलो आधारमा उल्लेख गरिएको छ । यस्तै दोस्रो र तेस्रो आधारमा बिभिन्न देशहरुको भौगोलिक परिस्थितिले पनि यस्को नियन्त्रणमा भूमिका खेल्ने छ भने भाइरस नियन्त्रणका लागि चालिएको कदममा पनि यो निर्भर रहने छ ।
तर बिभिन्न प्रयासका बाबजुद पनि यस्को हालत दिनानुदिन विग्रदै गयो भने यस्को संक्रमण सन् २०२१ सम्म पूर्णरुपमा रहने छ । यस्तो अवस्था सन् १९१८ र १९१९ मा देखिएको स्पेनिश फ्लूको महामारीमा देखिएको पनि सीआईडीआरएपीको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार औषधिको उपाय नभेटिएको अवस्थामा सबभन्दा राम्रो सम्भावनाको रुपमा संक्रमणले लिने ‘स्लो बर्न’ माथि विश्वास गरिएको छ । विस्तारै यस्ले केही समयपछि सानातिना उछालहरुबीच आफ्नो प्रभाव कम गर्दै लाने आशा गरिएको छ ।