भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित १७ नेपालीमध्ये १३ जना उपचारपछि निको भएका छन् । भारतमा १७ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको मध्ये ११ जना रोजगारीका लागि भारतमा बस्दै आएका थिए भने पाँच जना केही महिनाअघि मात्र भारत गएका थिए । सङ्क्रमित नेपालीमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका थिए । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारको आठजनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
दक्षिण भारतको बैंग्लोरमा सङ्क्रमित चारजना नेपाली पनि उपचारपछि घर फर्किएका छन् । यसबाहेक केही महिनाअघि भारत आएका पाँचजना नेपाली जसमा संक्रमण देखिएको थियो । जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने चारजनाको भने अझै उपचार चलिरहेको छ । सङ्क्रमित नेपालीमध्ये हरियाणाको अम्बालामा रहेका पनि उपचारपछि ठीक भइसकेका छन् भने उत्तरप्रदेशको बागपतमा रहेका बाँकी चार जना सङ्क्रमितको उपचार भइरहेको छ ।