अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 13:25

अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य सुरु

बिआरटीनेपाल २०७७ वैशाख १७ गते २१:५३ मा प्रकाशित

सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य सुरु गरेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले विदेशमा रहेका नेपालीलाई समाजिक सञ्जालमार्फत सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको जानकारी गराउनुभएको हो ।

ठूलो संख्याका नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलो स्रोत साधनको आवश्यकता पर्ने भन्दै उहाँले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिएर नेपाल ल्याइने बताउनुभयो । यसमध्ये थोरै प्रतिशत मात्र नेपालीलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्नेलगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्ने मन्त्री यादवले बताउनुभयो ।

रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले खान बस्नको समस्यामा परेमा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा सम्पर्क गर्न मन्त्री यादवले आग्रह गर्नुभयो । उहाँले कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोबलका साथ आफ्ना आफन्तजन तथा नेपाली दूतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्कमा रहन पनि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू