अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 23:58

अमेरिकामा कोरोना संक्रमित संख्या १० लाख बढी, ज्यान गुमाउनेको संख्या साढे ५६ हजार पुग्यो

बिआरटीनेपाल २०७७ वैशाख १५ गते २१:५९ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दरमा अघिल्ला दिनहरुको तुलनामा केही कमी आएको छ । तरपनि, कुल संक्रमित संख्या १० लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १० लाख १० हजार १२३ पुगेको छ । सोमबार मात्र त्यहाँ २२ हजार ९६३ नयाँ संक्रमित फेला परेका छन् । यो अघिल्ला दिनहरुको तुलनामा कम नै हो ।

यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५६ हजार ७९६ को ज्यान गइसकेको छ । त्यहाँ सोमबार मात्र त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ३८३ को ज्यान गएको छ । यो अघिल्लो एक दिनको तुलनामा भने केही बढी हो । आइतबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ रहेको थियो । तर शनिबार भने एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो ।

कोरोना संक्रमणका नयाँ केसहरुमा पनि शनिबारको तुलनामा आइतबार कमी आएको थियो । त्यहाँ शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेला परेकोमा आइतबार भने यो संख्या घटेर २६ हजार ५०९ मा झरेको थियो । सोमबार यो संख्या अझै घटेर २२ हजारमा झरेको छ । शुक्रबार भने हालसम्मकै सर्वाधिक ३८ हजार ९५८ नयाँ संक्रमित फेला परेका थिए ।

यसैगरी अमेरिकामा १ लाख ३८ हजार ९८९ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । ८ लाख १४ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ हजार ६२३ पुगेको छ । सोमबार मात्र त्यहाँ ३४८ को मृत्यु भएको छ, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । आइतबार त्यहाँ ३६७ को मृत्यु भएको थियो भने शनिबार ६१७ को मृत्यु भएको जनाईएको छ ।

प्रतिक्रिया