अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 23:39

इटालीमा लकडाउन खुकुलो पार्ने तयारी

बिआरटीनेपाल २०७७ वैशाख १४ गते २१:५४ मा प्रकाशित

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित हुने मध्ये एक देश इटालीले लकडाउन खुकुलो पार्ने योजना सार्वजनिक गरेको छ । पछिल्ला केही दिनयता कोभिड–१९ का कारण मृत्यु हुने तथा संक्रमितको संख्या लगातार कम हुँदै गएपछि इटालीले लकडाउन खुकुलो पार्दै अन्ततः हटाउने योजना बनाएको हो ।

प्रधानमन्त्री जुसेपे कोन्तेले लकडाउन मे ४ अर्थात आउँदो हप्तादेखि केही खुकुलो पारिने बताउनुभएको छ । मे ४ देखि सानो संख्यामा रहेर मानिसहरुलाई आफन्तसँग भेटघाट गर्न दिइने तर मास्क भने अनिवार्य रुपमा लगाउनु पर्ने प्रधानमन्त्री कोन्तेले जानकारी दिनुभयो ।

पार्कहरु पनि खुला हुने भएका छन्, तर स्कूलहरु भने नियमित जस्तो गरी सेप्टेम्बरसम्म खुल्ने छैनन् । प्रधानमन्त्री कोन्तेले टेलिभिजन मार्फत सम्बोधन गरि लकडाउन अन्त्य गर्ने योजनाका चरणहरु सार्वजनिक गर्नुभएको हो । दोस्रो चरणमा मानिसहरुलाई आफ्नै क्षेत्रको भ्रमण गर्न दिइने छ ।

तर एक क्षेत्रबाट अर्को क्षेत्र वा प्रदेशमा भने जान दिइने छैन । अन्तिम संस्कारहरुका लागि स्वीकृति दिइने भएको र अधिकतम १५ जना मात्रै सहभागी हुन पाउने छन् । खेलाडीहरुले व्यक्तिगत रुपमा बाहिर निस्केर प्रशिक्षण गर्न पाउने छन् । यस्तै मे ४ देखि बार तथा रेस्टुरेन्टहरु टेकअवे सेवाका लागि खुला हुने छन् । अहिले भने अडर अनुसार डेलिभरी सेवा मात्रै छ । बार वा रेस्टुरेन्टमा गएर खान भने पाइने छैन । कपाल तथा नङका सैलुन, ब्यूटिपार्लर, बार तथा रेस्टुरेन्ट पूर्ण क्षमतामा जुन १ देखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री कोन्तेले सामाजिक तथा भौतिक दूरीका उपायहरु अपनाइरहनु पर्नेमा जोड दिनुभएको छ । उहाँले कम्तिमा तीन फिटको दूरी कायम गर्न आग्रह समेत गर्नुभएको छ । इटालीमा विगत ७ हप्तादेखि लकडाउन जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय