अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ – मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ वैशाख १३ गते ६:२४ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको बताउनुभएको छ । प्रदेशका कोरोना भाइरसबाट संक्रमित २ जना बिरामी उपचारपछि निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरूङले प्रदेश कोरोनामुक्त भई ग्रिन जोन बनेको घोषणा गर्नुभयो ।

शनिवार पोखराका पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री गुरुङले बागलुङ जिल्लामा कोरोना संक्रमित भेटिदा रेडजोन भन्ने रहेकोमा अहिले बागलुङमा थप संक्रमित नभेटिएकोले गण्डकीका ११ वटै जिल्ला र ८५ वटै पालिकाहरू ग्रिन जोन रहेको उहाँको भनाई थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ पटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले शुक्रवार बागलुङमा उपचारमा रहेकी १९ वर्षकी युवतीको डिस्चार्ज गरिएको र सोसँगै प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भएको उहाको दावी छ ।

संक्रमण नियन्त्रण नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनुपर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो । लकडाउनको मोडल परिवर्तन गर्दै निर्माण र उत्पादनका क्षेत्र खोल्नुपर्ने उहाको तर्क छ । भारतमा संक्रमण नघट्दासम्म नेपालमा पनि लकडाउन खोल्न हतार गरी लापरवाही गर्न नहुने उहाको ठहर थियो ।

यसैबीच, प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएअनुसार गण्डकीमा हालसम्मको पीसीआर टेस्टमा ५६४ मध्ये ५४० जनाको नेगेटिभ आएको छ । २ जनाको रिपोर्ट पोजेटिभ आएकोमा उनीहरू निको भएका हुन् । अरु २२ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ । गण्डकीमा झण्डै ५ हजार जनाको कोरोनाको द्रुत परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय