अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 23:59

आमाको ममताको बयान समुद्रबाट थोपा झिकेजस्तो

शिव लामिछाने २०७७ वैशाख ११ गते ८:१७ मा प्रकाशित

सन्दर्भः माता तीर्थ औँसी
आज आमाको मुख हेर्ने दिन । अस्ट्रेलियादेखि अमेरिकासम्म आइपुग्दा यो दिन दुई दिनमा विभाजन हुन्छ । हामी अमेरिकामा छौँ । हिजोदेखि यस मुहार ग्रन्थमा मेरा साथीहरूको वृत्तमा रहनुभएका धेरै महानुभावहरूले आमाको साथमा बसेका र आमाको सम्झना गराउने विभिन्न पलका तस्बिरहरू राख्नुभएको छ । ती भाग्यमानीहरू जसले सय वर्षको उमेरकी आमाका हात शिरमा थाप्ने अवसर पाइरहनुभएको छ वहाँहरू र वहाँकी सौभाग्य शाली दीर्घजीवी आमाहरूप्रति धेरै धेरै प्रणाम ! साथै, सन्तानलाई यो संसारमा ल्याएर उनीहरूको पालनपोषण र सन्तानको भविष्यमा आफूलाई चटक्कै बिर्सन सक्ने सबै आमाहरूको सुस्वास्थ्य, खुसी र चिरायुका लागि हार्दिक शुभकामना !

मेरी पनि आमा हुनुहुन्थ्यो । वहाँले म, मेरो भाइ, तीन जना बहिनीहरू र अर्को एक भाइलाई क्रमशः जन्म दिएर हुर्काउनुभयो । पाँच सन्तानको बिहे आफ्नै हातले खुसीले गरिदिनुभयो । नातिनातिनाको मुख हेर्ने अवसर पाउनुभयो । वहाँले नातिको व्रतबन्ध गराउनुभयो । त्यसपछि अल्पायुमै (छपन्न वर्षको उमेरमै) वहाँ स्वर्ग जानुभयो । वि. सं. २०६६ सालदेखि म, मेरो भाइ माधव, बहिनीहरू गीता, समीता, समीक्षा (चोला) र कान्छो भाइ प्रतीक वहाँलाई विभिन्न सुख र दुःखका अवसरमा सम्झिरहन्छौँ । कहिले सँगै बसेर त कहिले एक्ला एक्लै सम्झन्छौँ ।

आजको दिन कान्छो भाइ प्रतीक आमालाई बेल्जियमबाट सम्झिरहेका छन् । माधव परिवारमा काठमाडौँमा छन्, उनले आफ्नै तरिकाले सम्झिरहेका छन् । जेठी र कान्छी बहिनीहरू धादिङमा आफ्ना आफ्ना घरमा छन् । उनीहरू पनि काममा व्यस्त होलान्, घरमै रहने बेला हो यो बेला । विश्वव्यापी रोगको प्रकोपबाट बच्न घरमा बस्ने आदेश दिएर नेपाल सरकारले जति कडाइ सायद विश्वको कुनै देशले पनि गरेको छैन होला । माहिली बहिनी समीता काठमाडौँमा छिन् । उनका दुई छोराछोरी धादिङमा गएका बेला यस्तो बन्द भयो । उनीहरू काठमाडौँ आउन खोजिरहेका छन्, सकेका छैनन् भनूँ आउन पाएका छैनन् । कान्छो भाइ प्रतीककी श्रीमती र दुई छोराहरू नेपालमा छन् । उनीहरू यतिखेर पर्वतमा छन् । साना केटाहरू पर्वतमा आमा, मामाहरू, हजुरआमाका साथमा रमाइरहेका छन् । म मेरी श्रीमती पार्वती, छोराछोरी अच्युतअभिज्ञा र बुहारी रचनाका साथमा अमेरिकामा छु ।

प्रतीकका छोराहरू प्रइतोष र प्रयुषले आज बिहान आमाको महत्त्वका विषयमा बाल कविता पढेर यस मुहार ग्रन्थमा राखेछन् । दुई भतिजहरूको आमाका विषयमा बोलको कविताले मलाई मेरी आमा, मेरो बाल्यकाल र मेरी आमाका अन्तिम दिनमा उहाँले मलाई दिनुभएको माया र आमासितका मेरा जीवनका विभिन्न पलहरूको सम्झना गरायो । मैले माथि नै भनेँ– दुःखसुखमा आमाको सम्झना आइरहन्छ । “आमा यस्तो भयो” भनेर दुःख र खुसीका कुरा बताउन नपाउँदाको अवस्थामा साँच्चीकै आमाको अनुपस्थितितिरको रिक्तता महसुस हुँदो रहेछ । आमा रहँदाका बेला, कति कुरा भनिएन । पछि भनुँला भनेर राखियो । जब आमा जानुभयो, त्यसपछि थाहा हुन थाल्यो, आमालाई यो भन्नुपर्ने थियो, आमालाई यसो भन्न पाएको भए कति खुसी हुनुहुन्थ्यो होला, आमाले यो सुन्नुभएको भए मुर्छा परेर हाँस्नुहुन्थ्यो होला आदि आदि ।

आमासितका विभिन्न पलहरू निकै अविस्मरणीय छन् । तर केही यस्ता घटनाहरू छन् जो सम्झँदा पनि आफूलाई आमाप्रति केही कर्तव्य पालन गर्न सकिएन कि भन्ने कुराले धेरै पश्चात्ताप हुने गर्दछ । यस जन्ममा आमासित क्षमा माग्ने वा आभार प्रकट गर्ने र दण्डवत् प्रणाम गर्ने अवसर सदाका लागि सकिएको छ । तीन घटनाहरू म सधैँ पलपल सम्झिरहन्छु–

१. म त्यस्तै आठ वर्षको थिएँ । म र तीन भाइबहिनी थियौँ । धादिङको सामान्य कृषक परिवार । बा पुरेत पनि हुनुहुन्थ्यो । खेतीपाती र जनमाजीबाहेक घरमा धेरै काम बाले हेर्न भ्याउनुहुन्नथ्यो । आमाले सत्रअठारवटा बाख्रा, नौदशवटा गाई गोरु र तीनचारवटा भैँसीको खानपानको हेरविचार गर्ने काम गर्नुपर्थ्यो । सबै गाई बाख्रा एक्लै चराउन लैजाने र बेलुका फर्कँदा घाँसको भारी लिएर आउनुहुन्थ्यो । बनमा काटेर राखेको घाँस लिन फेरि हतार हतार जानुहुन्थ्यो । मैले वहाँलाई जेठो छोराका रूपमा सघाउने भनेको गोठको भकारो सोर्नु र घरमा भएका बाख्रालाई घाँस दिनु मात्र थियो ।

वैशाखको अन्तिमतिर होला, बारीमा मकै गोड्ने बेला भएको थियो । हामी सबै छोराछोरीलाई दादुरा आयो । मबाट त्यो सुरु भएको थियो । म दादुराका साथ आएको ज्वरोले इन्तु न चिन्तु थिएँ । मलाई सम्झना छ, आँखा खोल्न मलाई निकै गाह्रो भएको थियो । उज्यालो हेर्न नसक्ने भएको थिएँ । बा कहाँ जानुभएको थियो, मलाई सम्झना छैन । सायद जजमानीमा धार्मिक पूजापाठ थियो होला । मलाई औषधि नभई नहुने कुराको आमालाई महसुस भएछ । बिहान पानी लिन जाने ठाउँ बिस मिनेट पर थियो । तीन चार गाग्री पानी नभई बिहान चल्दैनथ्यो । भाइबहिनी साना थिए । माहिली बहिनी समीता भर्खर जन्मेकी थिइन् होला ।

आठ बजेतिर हुनुपर्छ, विहानको काम सकेर आएपछि आमाले मलाई बोलाउनुभयो । मेरो बोली प्रस्ट नआएपछि वहाँले मलाई सबैतिर छाम्नुभयो । वहाँ आत्तिनुभयो, मलाई लाग्छ वहाँ रुनुभयो । मेरो आँखा बन्द थिए । ज्वरो आगाको भुङ्ग्रोजस्तो तातो भएर आएको थियो । वहाँ कता जानुभयो मलाई थाहा भएन । सायद म निदाएँ कि । घाम निकै माथि आइसकेका रहेछन् । आमाले फेरि बोलाउनुभयो । मैले आँखा खोलेँ । भन्नुभयो, “उठ् त, अलिकति यो खाएर यो औषधि खा, मैले आरुघाटबाट औषधि लिएर आएको छु ।” आमाले सुख्खा बाबर रोटी र दूध दिनुभयो ।

आरुघाट हाम्रो घर सल्यानकोटबाट हिँडेर अढाइ घन्टामा पुगिन्छ । आमाले त्यो छोटो अवधिमा, करीब तीन घन्टामा त्यो दुरी कसरी हिँडेर तय गर्नुभयो र औषधि लिएर आउनुभयो म अहिले पनि कल्पना गर्न सक्दिनँ । फर्केर आउँदा दुई ठाउँमा गरी करीब डेढ घन्टा त पूरै उकालो छ । कति छिटो दौडेर पुग्नुभयो होला, कति छिटो दौडेर फर्कनुभयो होला । वात्सल्य र इच्छाशक्तिका विरुद्ध भगवान पनि नतमस्तक हुन्छन् भन्ने मलाई अहिले महसूस हुन्छ । आमाले त्यो कथा हामी निको भएर सामान्य भइसकेपछि गाउँका धेरै मानिससित भन्नुभयो । वहाँ आफैँ पनि आश्चर्य हुनुभयो रे, त्यति छिटो त्यति लामो बाटो कसरी हिड्न सक्नुभयो भनेर । पछिसम्म भन्नुभयो, “अहिले त मलाई सम्झिँदा पनि कथाजस्तो लाग्छ ।”

२. छत्तीस सालतिर हो । त्यतिबेला ठूलोबाका चारछोरीहरु, हाम्रा बाका दुई छोरा दुई छोरी जन्मिसकेका थियौँ । अनि एकलासमा हाम्रा दुई घर । धेरै फराकिलो क्षेत्र खेतीपाती र झाडीको । हाम्रा चकचकका कारण छिमेकमा अरुलाई कहिल्यै समस्या नहुने । भएदेखि ठूलाबाका घरमा र हाम्रा घरमा मात्र समस्या हुने । एक दिन अपरान्हको बेला, ठूलाबाकी माहिली छोरी भगवती र मैले मेरो घरमा दही खाने योजना बनायौँ । मेरो घरको म जेठो । ठूलोबाकी छोरी राधा मेरी दिदी । उनी दुब्ली र रोगी थिइन् । केही वर्षपछि उनको निधन भयो । मेरो घरको माथिल्लो तलामा जाने भ¥याङबाट उक्लने ठाउँको भित्तामा किला ठोकेर दही झुण्डाएको थियो । दहीको तर खुब मन पर्ने मलाई । एक्लै खान आँट नआएर बहिनीलाई बोलाएको थिएँ । दिदी पनि थिइन् । बहिनी र मैले पालैपालो भ¥याङको खुड्किलामा उक्लेर दहीको तर तथा दही खायौँ । दिदीले हेरिरहिन् । हामीले आऊ भनेर बोलायौँ । तर उनले मानिन् । उनले भनिन्, “सानोबा सानीमाले मार्छन्, म त खान्नँ ।”

दही सकिने बेला भएपछि हामी रित्तिन लागेको ठेकी त्यहीँ छोडेर बाहिर खेल्न निस्कियौँ । केही बेरमा आमा आउनुभएछ । र, हामीले खाएको कुरा पत्ता लागिहाल्यो । भुइँमा दहीका थोपा पोखिएका थिए । मेरो कपडामा पनि थियो होला । बा पनि आइसक्नुभएको थियो । वहाँ आँगनमा बसेर भैँसीका लागि मोटो दाम्लो बनाउँदै हुनुहुन्थ्यो । आमाले बोलाउनुभयो, म घर आएर चुपचाप पिँढीको खाटमा चुपचाप बसेँ । आमाले मलाई सोध्दैनसोधी बालाई “यसले आज दही चोरेछ” भनेर कुरा लगाइदिनुभयो । बाले थप कुरै नसुनी आएर दुई थप्पड मेरो गालामा चड्काउनुभयो । म रुन थालेँ । बा थप्दै हुनुहुन्थ्यो, आमाले एक्कासि मलाई छोपेर रोक्नुभयो । मुखले भने भइहाल्थ्यो नि “नगर भनेर, किन थप्पडै हान्नुपर्ने, हेर गालै रातो हुने गरी त्यस्तो साह्रो हातले…..।” बा केके भन्न थाल्नुभयो । म रोइरहेको थिएँ । आमाले गाला सुम्सुम्याउनुभयो । र, भन्नुभयो– जा, पढ्न थाल् । बाले फेरि मार्नुहुन्छ ।”

भोलिपल्ट मही बनाउनु थियो, घिउ पैँचो दिएर वा बेचेर बारीमा मकै गोड्न र असारमा खेतमा आली लगाउन खेतालाको ज्याला पुर्याउनु पर्ने थियो । आम्दानीको स्रोत घिउ, घिउको स्रोत दही । दही र तर नै खाइदिएपछि के लाग्छ । आमालाई सुरुमा मसित रिस उठेको थियो तर बाको रिसलाई थाम्न आमाले मलाई त्यो कुरा कहिल्यै दोहो¥याउनुभएन, पछि धेरैपटक घिउ झिकेर खाएँ तर आमाले कहिल्यै बालाई भन्नुभएन । हामी ठूलो भएपछि आमाले त्यो घटना धेरैपटक सुनाउनुभयो । हामी त्यो सुनेर आनन्द लिन्थ्यौँ । बाले त्यो घटनापछि मलाई पिट्नुभएको सम्झना छैन ।

३. २०६५ सालको जेठमा बा परलोक हुनुभयो । बाले पटकपटक भन्नुहुन्थ्यो हाम्रो तल्लो बिरौटाबाट मोटरबाटो आउँछ । कसैले पत्याउँदैनथ्यो । अन्ततः बाको बोली पूरा भयो । हाम्रो घरमुनिबाट खेत काटेर बाटो खनियो । अमेरिकाको हवाईमा सात महिना बसेर म २०६४ माघमा नेपाल गएँ । त्यसको केही दिनपछि धादिङ मूल घर गएँ । पहिलोपल्ट बाले कल्पना गर्नुभएको मोटरबाटोबाट जिपमा घर पुगेँ । आमा मोटरले रोकेको ठाउँसम्म लिन आउनुभयो । काठमाडौँ हुँदा फोनमा बाले भन्नुभएको थियो, “आमा विरामी छे, काठमाडौँ लैजा ।” घर पुगेपछि आमाले भन्नुभयो, “मभन्दा बा बिरामी हुनुुहुन्छ, बालाई काडमाडौँ लैजा ।” बालाई लिएर काठमाडौँ फर्केँ । हामी छोराहरुले बालाई धेरै अस्पताल, वैद्य र होमियोप्याथी अस्पताल र डाक्टरकहाँ लग्यौँ तर वहाँ घर फर्कन पाउनुभएन । वहाँ काठमाडौँको अस्पतालबाटै परलोक हुनुभयो ।

आमा पनि त्यतिबेला हुनुहुन्थ्यो, हामीले बाको अवस्थाका कारण आमालाई बोलाएका थियौँ । आमामा त्यस्तो वियोगका बेला त्यति होश आउला भनेर मैले सोचेको थिइनँ । बाको अन्तिम अवस्था भएका बेला आमाले सबै तुनाहरु खोलिदिन, स्लाइनका पाइपबाट बालाई मुक्त गर्न हामीलाई अह्राइरहनुभयो । बाको अन्तिम संस्कार काठमाडौँमा गरेर काजकिरियाका लागि हामी धादिङ गयौँ । सबै काम सकेर हामी काठमाडौँ फर्कने भयौँ । आमालाई एक्लै नबस्न र हामीसित काठमाडौँ जान भन्यौँ । तर वहाँ गाईवस्तुको बहाना बनाएर उतै बस्नुभयो । फोनमा कुरा हुन्थ्यो । सबै ठीकै छ भन्नुभयो । बाको परलोक गमनको महिनापछि आमाले अलिअलि रिँगटा लाग्न थाल्यो भन्नुभयो । हामीले वहाँलाई काठमाडौँ ल्यायौँ ।

काठमाडौँमा स्त्रीरोग विशेषज्ञ डा जुन थापा, डा.उपेन्द्र देवकोटा, डा. भोला रिजाल, डा. गोपालरमण शर्मा, डा विश्वबन्धु शर्मालगायतका विशिष्ट डाक्टरहरुले वहाँलाई हेर्नुभयो । आमा कमजोर हुँदै जानुभयो । डाक्टरको औषधि र अस्पतालमा वहाँको भर्नाले केही सुधार हुने भएन । कुनै डाइनीबोक्सीको कारण हो कि भन्नेहरु पनि भए तिनको कुरा पनि मानेर कालीमाटीका ख्यातिप्राप्त झाँक्री कहाँ पनि लग्यौँ । घरमा ग्रहगोचरको पूजाहोम पनि गरायौँ । अन्त्यमा फेरि ओम अस्पताल लगेर भर्ना गर्यौँ ।

आमा सुकेर तन्नाजस्तै पातलो हुने अवस्थामा हुनुहुन्थ्यो । खान मान्नुहुन्नथ्यो । “मलाई मर्न देओ । तिमीहरुले मेरो लागि धेरै दुःख ग¥यौ, अब धेरै दुःख नगर, खर्च गर्नतिर

नलाग ।” भन्नुहुन्थ्यो । ओम अस्पतालका डा. आनन्द श्रेष्ठले एक दिन मलाई बोलाएर भने, “हामीले धेरै किसिमबाट जाँच गर्यौँ, क्यान्सरको शंका लागेर जाँच गर्यौँ । दिल्लीमा पनि स्याम्पल पठायौँ । तर केही देखिएन । तर, मेरो अनुभवमा तपाइको आमालाई क्यान्सर भएको हुनुपर्छ ।”
मैले सोधेँ, “डा. साहेब, आमा अब कति बाँच्नुहुन्छ ।”

“यसै भन्न सकिँदैन ।” उनले भने ।
मैले सोधेँ, “यसको अवधि हुन्छ नि, एक वर्ष, छ महिना, एक महिना….?”
उनले भने, “बढीमा एक महिना ।”
मैले भनेँ, त्यसो भए, म आमालाई अस्पतालमा मर्न दिन्नँ । किनभने मेरा बा अस्पतालमा परलोक हुनुभयो । म आमालाई त्यसो हुन दिन चाहन्नँ । म के गरुँ, पशुपतिको आर्यघाटको अस्पतालमा लैजाऊँ कि घर लैजाऊँ ?”

डा. आनन्दले भने, “आमालाई सोध्नुस्, जे भन्नुहुन्छ त्यही गर्नुस् ।”
मैले डाक्टरका कुरा बुझेँ । मैले उनलाई भनेँ, “आमाको नाकमा लगाइएको त्यो खाना दिने पाइप अहिले नै खोलिदिनुस् डा. साहेब । म केही मुखैबाट ख्वाउन चाहन्छु । सके खानुहुन्छ, नसके मलाई बोलेर वहाँका केही इच्छा बताउन सक्नुहुन्छ ।”
मैले यो सबै कुरा पार्वतीलाई भनेँ । मेरी श्रीमती पार्वतीले मेरा बाआमाको अन्तिम अवस्थामा धेरै सेवा हेरचाह गर्ने अवसर पाएकी छिन् । हाम्रो बिहेपछि मेरा बाआमसित साथमा बस्ने धेरै अवसर मैलेभन्दा उनले पाइन् । मसित कहिलेकहिले रोगका कारण झर्के पनि आमा र बा उनीसित खुसी हुनुुहुन्थ्यो । त्यसैले यस्तो कुरा सबै उनलाई भनेपछि मलाई हल्का हुन्थ्यो ।
डाक्टरले पाइप निकालिदिएपछि मैले आमालाई केही खान आग्रह गरेँ ।

आमा करीब करीब नबुझिने गरी बोल्न थाल्नुभयो । आमाले भन्नुभयो, “तैँले के खाइस्, तँ भोकै छस् । पढाउन पनि गइस् ? सुकेर टाट परिसकेको छस्, तँ केही खा ।” परलोक हुनुभन्दा दुई दिनअघि आमाले मलाई यसो भन्नुभयो । मैले केही खाइसकेँ भनेपछि मात्र वहाँले दुई चम्चा खानुभयो ।

त्यसको भोलिपल्ट आमाले घरै जाने र नातिनातिनासित बस्ने इच्छा गर्नुभयो । हामीले आमालाई बालाजु मनमैजुमा रहेको हाम्रो घरमा लग्यौँ । त्यसको भोलिपल्ट कुशेऔँशीका दिन आमाको अवस्था ज्यादै कमजोर भएपछि हामीले वहाँलाई पशुपति आर्यघाट लग्यौँ । केही बेर वैद्यको सल्लाहमा कोठामा राखेर वैद्यकै निर्देशमा ब्रह्मनालमा लैजान उठायौँ । हामी हिड्दै गर्दा तीनभाइको हातमा आमाले अन्तिम सास छोड्नुभयो । आमा यसरी परलोक हुनुभयो ।

आमामा हुने सन्तानप्रतिको मायाका बारेमा संसारका जति नै ठूला विद्वानले ग्रन्थ लेखे पनि त्यो भनेको समुद्रबाट निकालेको एक छिटा पानी बराबर हो । समुद्रमा कति थोपा पानी छ भन्नु ? कसले गन्ने ? आमाको कर्म, वात्सल्य र आशीर्वाद शब्दमा लेखेर बताउन सकिने कुरा होइन । सानो संस्मरणमात्र यहाँ राखेको हुँ । मेरी आमा र संसारभरबाट विभिन्न युगमा परलोक हुनुभएका कोटीकोटी महान आमाहरुको आत्माले सदा चिरशान्तिका साथ बैकुण्ठमा बास पाओस् भनी परमेश्वरसित प्रार्थना गर्दै मातृमुहार दर्शनको यस पावन अवसरमा संसारभरका छोराछोरीहरुले आमा जीवित हुँदैमा आमासित नजिक भइरहनमा ध्यान दिऊन् भनी शुभकामना पनि दिन चाहन्छु ।

-भर्जिनिया, अमेरिका

प्रतिक्रिया