अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 03:08

अमेरिकामा बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शन, राष्ट्रपति ट्रम्पद्धारा समर्थन

बिआरटीनेपाल २०७७ वैशाख ५ गते २१:५४ मा प्रकाशित

अमेरिकाका लकडाउनविरुद्ध बन्दुक बोकेर प्रदर्शन गरिएको छ । त्यस्तो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन गरेको बताईएको छ । मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा लकडाउनविरुद्ध प्रदर्शन गरिएको हो । डेमोक्रेटको शासन रहेको ती राज्यका प्रदर्शनमा राष्ट्रपति ट्रम्पका समर्थक उत्रिएका हुन् ।

ट्रम्पले नै यस्तो प्रदर्शनको समर्थन गर्दा सडकमा भीड बढेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन राज्यहरुले घरमै बस्न गरिएको लकडाउनको उनीहरुले उल्लंघन गरेका हुन् । प्रदर्शनकारीको समर्थन गर्दै ट्रम्पले ट्वीटमा लकडाउन खुकुलो पार्न माग गर्नुभएको छ । उहाँले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्न माग गर्नुभएको हो ।

लकडाउनले आर्थिक गतिविधि ठप्प हुँदा नागरिक समस्यामा पारेको प्रदर्शनकारीको भनाइ छ । स्वास्थ्य अधिकारीले भने लकडाउन हटाए वा खुकुलो पारेमा संक्रमण थप फैलिने चेतावनी दिएका छन् । ट्रम्पले आफ्नो ट्वीटमा डेमोक्रेट राज्यको मात्र उल्लेख गरेको र प्रदर्शन नै भएको ओहायो र उटालाई भने उल्लेख नगर्नुले पनि यसलाई राजनीतिक रंग दिन खोजिएको आशंका गरिएको छ । यसैबीच, विल्किनसन, ओरिगन, मेरिल्याण्ड, आइडाहो र टेक्सासमा पनि प्रदर्शनको तयारी भएको जनाइएको छ ।

अमेरिकामा बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै ४ हजार ५९१ जनाको मृत्यु भएको छ । शुक्रवार भने २५ सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अहिलेसम्म ३७ हजारको मृत्यु भैसकेको छ । त्यहाँ संक्रमितको संख्या ७ लाख ९ हजार नाघिसकेको छ । ट्रम्प प्रशासनले लकडाउन हटाउने योजना बिहीबार सार्वजनिक गरेको भोलिपल्टै प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया